काठमाडौं, ३ बैशाख (एजेन्सी) । पछिल्लो समय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग रुष्ट बनेको अमेरिकाले अहिलेसम्म दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको भन्दै सहयोग रोक्ने निर्णय गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराउका हुन् । ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो’ उनले भने, ‘त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’ डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको ट्रम्पको आरोप छ ।
डब्लुएचओ संयुक्त राष्ट्रसंघअन्तर्गतको संस्था हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई करिब ४ सय मिलियन डलर उपलब्ध गराएको थियो । यसअघि नै अमेरिकाले डब्लुएचओको भूमिका सन्तोषजनक नभएको भनेर आलोचना गरेको थियो ।