पिँडालु पण्डितउर्फ वासुदेव गुरागाइँको सिर्जनासँग साहित्य जगत् परिचित छ । हाल उहाँ निजामती क्षेत्रबाट अवकाशप्राप्त जीवनलाई साहित्यको गाडीमार्फत रमाइलो यात्रामा हुनुहुन्छ । निजामती क्षेत्रमा रहँदै गर्दा पिँडालु पण्डितका नामले सिर्जना मार्गमा दौडनु हुन्थ्यो । अहिले दुवै नाम चर्चित छ, साहित्यमा । पिँडालु पण्डितलाई मैले व्यङ्ग्यकारको रुपमा पहिला पढेको हुँ ।
अहिले पनि उहाँको बोली चालढाल सबै व्यङ्ग्यात्मक नै हुन्छ, तर व्यङ्ग्यमा पनि जीवनका सत्यतालाई उजागर गरिरहनु भएको छ । पिँडालु पण्डितको विगतलाई फर्केर हेर्दा बि.सं २०५३ सालदेखि पुस्तक प्रकाशन भएको देखिन्छ । स्वागत कविता सङ्ग्रहको पहिलो प्रकाशनसँगै नेपाली साहित्यमा हालसम्म डेढ दर्जन पुस्तकहरू प्रकाशन भइसकेका छन् ।
कविता सङ्ग्रहबाट सुरुवात भएपनि हास्यव्यङ्ग्यलाई मूल विधाका रुपमा लेखिरहनुभएका पिँडालु पण्डितले हाल भजन, खण्डकाव्य, हाइकु, कथा तथा लघुकथामा कलम चलाइरहनुभएको छ ।
उहाँको अर्को पक्षचाहिँ नुवाकोटको पशुपति भनेर चिनिने दुप्चेश्वर महादेवको बारेमा ग्रन्थ प्रकाशनका साथै धार्मिक पर्यटनको धाम निमार्णमा उल्लेख्य कामहरू गरिरहनु भएको छ ।
उहाँ साहित्य लेखनसँगै समाजसेवामा पनि निरन्तर रुपमा लागिरहनु भएको छ । समाजले कस्तो साहित्य रुचाउँछ, भन्ने साधनामा समाजप्रति उत्तरदायी भएर सिर्जनाकर्ममा लागिरहनु भएको छ, जीवनको उत्तरार्धतर्फ लाग्दै गर्दा आफ्ना अनुभवहरू पुस्तकका रुपमा लेखिरहनु भएको छ । त्यसको परिणाम हो, ‘त अब बुढो भइस्’ खण्डकाव्य ।
हरेक मान्छे जन्मन्छ, समयसँगै उसले निश्चित उमेरहरू पार गर्छ र, अन्तमा यो संसार छोड्छ पनि । यो सत्य हो यही सत्यतालाई ध्यानमा राखेर लेखिएको यो कृति सबै उमेरका मान्छेहरुकालाई पठन योग्य कृतिको रुपमा आएको छ ।
‘तँ अब बुढो भइस्’ खण्डकाव्यका लेखक पिँडालु पण्डितका अनुभवले खारिएर आएको यस कृति वास्तवमै जीवनका कटु सत्यमाथि लेखिएको एउटा आलेख हो । हरेक मान्छेका आ–आफ्नै मूल्यमान्यताहरू हुन्छन्, धनी र गरिब हुन्छन्, तर जो कोही पनि जन्मनु र मर्नुको प्रक्रिया त एउटै हो ।
यस कारण पनि मान्छेहरूले अहमका पर्खालहरू ठड्याई रहेका हुन्छन्, अहम्को त्यो पर्खाल अग्लिन नदिने साधन भनेकै साहित्य हो, जसले समाजलाई बाँधेर राख्छ । साहित्यकारले सत्यको उजागर गर्छन्, देखेका, भोगेका समयका लिखोट समाजलाई नै सुम्पन्छन्, पिँडालु पण्डितका यी लिखौट पनि समाज मैत्री छन् समाजलाई सत्मार्गमा लैजान सक्ने क्षमता राख्छन् ।
‘सृष्टिका सबै चिज बुढा हुन्छन्, जस्तै बिहान उदाएको घाम साँझ बुढो हुन्छ । साँझ उदाएका जून बिहान बुढो हुन्छ । राती उदाएका तारा राती नै बुढा हुन्छन् । सृष्टिका चराचर सबै चिज बुढा हुन्छन् । सृष्टिमा बुढा नहुने केही छैन ।
सत्ययुग बुडियो, त्रेता युग बुडियो, द्वापर युग बुडियो । आज युवा छु भनेर कलि कुर्लिरहेछ । भोलि यसको पनि बुढ्यौली निश्चित छ । ढिलोचाढो नासिनुपर्छ यसले पनि एक दिन । बुढ्यौलीका सन्दर्भमा स्वाभाविक रुपमा यी महत्त्वपूर्ण मननिय पक्ष हुन् सबैका लागि ।
यति कुरा मात्र बोध गर्न सक्यो भने पनि बुढ्यौलीको बँचाइ र जीवनयापन केही हदसम्म भए पनि सहज हुन्छ, सरल हुन्छ ।’ यस्तै आत्मस्विकृतिहरुलाई स्वीकार गर्दै साहित्यको फूलबारीमा विविध वासनायुक्त फूलहरू रोप्न सक्ने र ती फूलहरूका बास्नाहरू विश्व समाज भरी नै फैलाउन सक्ने क्षमता उहाँमा छ । ‘त अब बुढो भइस्’ कृतिमार्फत विश्वका मानजजातीका सत्यतालाई उजागर गर्दछ ।
‘त अब बुढो भइस्’ एउटा काव्य कृति मात्र नभएर एउटा जीवनको पूर्णपाठ पनि हो । हो मान्छेलाई थाहा छ, म बुढो हुन्छु, तर उ पद–प्रतिष्ठामा रहँदा सबै भुल्छ । जसरी उहाँले काव्य–उठान मार्फत काव्यमार्फत जीवनका सत्यताको उत्खनन गर्नु भएको छ, यो हरेक मान्छेले मनन गर्नै पर्छ ।
वर्तमानमा मान्छेले आफ्नो हैसियत बिर्सिरहेको समयमा ‘त अब बुढो भइस्’ कृतिले उनीहरूका हैसियतलाई उजागर गरेको छ । वर्तमान समय वास्तवमै ठूलाठूला चुनौती बोकेर आएको छ, प्रत्येक परिवारका युवाजनहरु स्वदेशमा छैनन् । एयरपोर्टमा देखिने भिडले अझै ठूला चुनौतिको सामना गर्न तत्पर रहनु पर्छ भन्ने संकेत गरिरहेको छ, यो सत्य हो । कवि पिँडालु पण्डितले उठान गर्न खोजेको सन्दर्भ हरेक मानिविय संवेदनाहरुसँग गाँसिएको छ ।
जीवनका कटु सत्यतालाई नभुलौँ र हरेक समयमा आफूले गर्न सक्ने कामहरू गरौँ, ताकी ती कार्यहरूको प्रतिफल हामीले बुढौँलीमा उर्जाका साथ लिन सकौँ, भन्ने उहाँका काव्यका निचोड हुन् ।
‘..यो कृति बढीभन्दा बढी वयस्कहरूले पढ्नुपर्छ । भोली आइपर्ने समस्यासँग जुध्न सक्ने गरी आफूलाई उच्च मानसिक तयारीमा राख्नुपर्छ । किनकि, बुढ्यौली सबैले खेप्नु पर्ने नियति हो । परम सत्य हो । यसबाट कोही पनि भाग्न सक्तैनन् ।’ यो कृति किन पढ्नुपर्छ भन्ने कुरामा उहाँका यी धारणाहरूले पनि स्पष्ट गर्दछ ।
झट्ट हेर्दा सामान्य विषय छ, तर सम्पूर्ण जीवनका यथार्थ चित्र शृङ्खलाबद्ध रुपमा ‘त अब बुढो भइस्’ मार्फत आएका छन् । कतिपय लेखकहरू आफैँमा अलमलिएको देखिन्छ, तर उहाँको लेखनी स्पष्ट छ, सटिक छ र हरेक मान्छेका आ–आफ्ना कर्मसँग जोडिएका छन् । र, मान्छेलाई सुकर्म गर्न प्रेरणा प्रदान गर्ने यी कविताहरू सबै उमेरका व्यक्तिहरूको लागि पढ्न योग्य छ ।
पौरखी थिइस् तँ,
र त कहिले
झुट उद्योग चलाइस्
नेता बनेर
कहिले
कुट उद्योग चलाइस्
साधु बनेर
कहिले
मत उद्योग खोलिस्
माग्ने बनेर
कहिले
गफ उद्योग खोलिस
थाङ्ने बनेर (पृ.६७)
जीवनका सत्यतालाई सरल भाषामा सम्प्रेषण गर्न पक्कै कठिन छ । ‘त अब बुढो भइस्’ काव्य मार्फत उजागर भएका हरेक शब्दहरू हाम्रा जीवन यापनका माध्यम बन्न सक्छन्, यो कृति पढीसकेपछि जीवनका बाटाहरु बदलिन सक्छन् । जीवन बाँच्नुको अर्थ बोध हुन्छन् । बुढ्यौलीलाई अरूले हेर्ने दृष्टिकोण फेरिन सक्छन् । यी सबै हामी आफैले आफ्नो जीवनको बाटाहरू मोड्न सक्छौँ, तर हामी त्यो अन्धकारबाट बाहिर निस्कन सक्दैनौँ ।
‘त अब बुढो भइस्’ यी र यस्ता कृतिहरूले अन्धकारमा रहेका मानवहरूलाई अन्धकारबाट मुक्ति दिन सक्ने सामर्थ्य राख्छ । स्रष्टालय बुक्स एण्ड पब्लिकेशनद्धारा प्रकाशित कृति ‘त अब बुढो भइस्’को मूल्य पाँच सय वास्तवमा जीवन बोधको मूल्य भन्दा कमै छ ।