माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन नगरेको भए के हुन्थ्यो ? यसको सहज जवाफ छ–अहिलेको लोकतान्त्रिक गणतन्त्र नै इतिहासको पानामा सीमित हुन्थ्यो । नेपालको राजनीतिले निकै धेरै उतारचढाव झेलिसकेको छ ।
अब नेपाली जनता नेपालको संविधान २०७२ लाई निष्क्रिय पार्न चाहँदैनन् । किनभने, नेपाली कानुनलाई सर्वोपरि मानेर अगाडि बढ्न चाहन्छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले एकचोटी होइन, दुई/दुई चोटि संसद् विघटन गरे । ओलीले वरिष्ठ नेता नेपाल र झलनाथ खनालजस्ता अनुभवी नेताहरूका सल्लाहमा चलेका भए अहिलेको दुर्दशा आउने थिएन ।
पञ्चायती व्यवस्था अन्त्यपछि प्रजातन्त्र पुनःवहाली भएको संविधानमा संसद् विघटन गर्ने व्यवस्था थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यही धारालाई आधार बनाई संसद् विघटन गरेका थिए । तर, यो संविधानले त्यस्तो अधिकार प्रधानमन्त्रीलाई प्रदान गरेको छैन । सम्पूर्ण विकल्प सकिएपछि मात्र संसद् विघटन गर्न पाइन्छ ।
आफू प्रधानमन्त्रीको कुर्चीमा बस्न नपाउँदा प्रतिनिधिसभा नै रहन नदिने उद्दण्ड सोच संविधान विपरीतको थियो । अहिले पनि हाम्रो देशमा राजनेताको कमी छ । यसै सन्दर्भमा एउटा अमेरिकी लेखक जेम्स फ्रिम्यान क्लार्कले भनेका छन्, ‘नेता र राजनेता बीच फरक भनेको, नेताले अर्को चुनावका बारेमा सोच्छन् भने राजनेताले भावी पुस्ताका लागि ।’
माधवकुमार नेपालले भविष्यको बारेमा नसोचेका भए यो संविधानलाई निष्क्रिय गर्न तम्सिएका ओली पराजित हुने थिएनन् । त्यति मात्र कहाँ हो र ? नेपालले हिम्मत गरेर पार्टीबाट विद्रोह गर्दै नयाँ गठबन्धनको सरकार बनाउन भूमिका नखेलेको भए संविधानअनुसार पूरा अवधिभर संसद् टिक्ने थिएन । अहिलेको व्यवस्था ध्वस्त हुने थियो ।
माधवकुमार नेपालले राजनेताको रूपमा नसोचेका भए यो संविधानलाई निष्क्रिय गर्न तम्सिएका ओली पराजित हुन्थेनन् । त्यति मात्र कहाँ हो र ? नेपालले हिम्मत गरेर पार्टीबाट विद्रोह गर्दै नयाँ गठबन्धनको सरकार बनाउन भूमिका नखेलेको भए संविधानअनुसार पूरा अवधिभर संसद् टिक्ने थिएन । अहिलेको व्यवस्था ध्वस्त हुने थियो । मुलुक भाँडभैलोमा जाने थियो ।
संविधानअनुसार संसद् पुनःस्थापित भइसकेपछि सर्वोच्च अदालतबारे ओलीले तथानाम गालीगलौज गरे । जुन तुच्छ राजनीतिक अभिव्यक्ति थियो । ओलीले प्रत्येक भाषणमा तत्कालीन शेरबहादुर देउवा सरकारलाई जनादेशबाट होइन, परमादेशबाट बनेको भन्न छाडेनन् ।
अहिले पनि ओली विगतको असंवैधानिक कदमलाई सही भनिरहेका छन् । ओलीको ध्यान फेरि पनि संसद् विघटन गर्नेमा केन्द्रित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचेत नहुने हो भने ओलीको षडयन्त्रमा फस्न बेर लाग्दैन ।
नेपाली काँग्रेसले गठबन्धन सर्तअनुसार काम गर्न नसकेकोले अहिले पुनः नेकपा (एमाले) नेकपा (माके), रास्वपा, जसपा र नेकपा (एस)को संयुक्त सरकार छ । यस सरकारमा बसेका पार्टीहरू अहिले सचेत भएर बस्नुपरेको छ । किनभने, ओलीलाई यस संविधानसँग कुनै लेनादेना छैन । उनी फेरि पनि संविधानमाथि आक्रमण गर्ने षडयन्त्रमै छन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत नागरिकता विधेयक प्रमाणित गर्न ओलीले नै रोकेको कुरा सर्वविदितै छ । यसरी नेपालको संविधान २०७२ सँग पटक÷पटक खेलबाड गर्न कसले छूट दियो ? जनताबाट निर्मित संविधानसँग यसरी जथाभाबी गर्नु जनताको अपमान होइन र ? अदालतले नरोकेको भए जे पनि गर्न ओली पछि पर्दैन थिए ।
ओलीको प्रधानमन्त्रीत्वकालमा चौतर्फी डर थियो कातिबेला के हुन्छ ठेगान छैन । ओलीले नेपाल भारत बीचको सांस्कृतिक सम्बन्धलाई समेत बिगार्न खोजे । प्राचीकालीन अयोध्याबारे विभिन्न किसिमका मनगढन्ते कुराहरू ल्याएर दुवै देशका जनतालाई भ्रममा राखे । सदिऔँदेखि नेपाल भारतको बीच रहेको सम्बन्धलाई ओलीले शंकाको सम्बन्धमा स्थापित गरे ।
दुवै देशका बीचमा रहेका यस्ता सम्बन्ध सदिऔंदेखि दुवै देशका जनताले जोडेका छन् । यसलाई शासकहरूले चाहेर मात्र तोड्न सक्दैनन् । केही दिन पहिले नेपाली काँग्रेससँगको गठबन्धन टुट्दा ओली आफै नेपालनिवास कोटेश्वर पुगेर सरकारमा सामेल हुनलाई आमन्त्रण गर्न पुग्नु आफैमा एउटा नयाँ शुरूवातको रूपमा लिन सकिन्छ । वामपन्थीहरू एकै ठाउँमा आउनु राम्रो पक्ष हो । तर, पुनः षडयन्त्रपूर्ण कुनै कारबाहीतिर न जाने हो भने शंका हट्नु पर्छ ।
नेता नेपाल वामपन्थी नेताहरू मध्येका एउटा इमानदार र अनुभवी नेता हुन् । उनले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई स्थापना कालदेखि निरन्तर रूपमा नेतृत्व गर्दै आउनु भएको छ । त्यतिमात्र कहाँ हो र ? नेपाल कम्युनिष्ट पार्टी सरकारमा आउँदा पहिलो मन्त्रिपरिषद्को नेतृत्व गर्नुभएको क. मनमोहन अधिकारीको सरकारमा माधवकुमार नेपाल उपप्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।
कम्युनिष्ट पार्टी प्रतिको गलत अवधारणालाई चिर्न नेपाल पूर्णसफल भएको कुरा अहिले पनि जनताले बिर्सेका छैनन् । त्यो ९ महिने वामपन्थी सरकारले लागु गरेका कामलाई अहिलेसम्म पनि एमालेले आफ्नो उपलब्धिको रूपमा प्रत्येक चुनावमा प्रचारप्रसार गर्दै आएको छ । मनमोहन अधिकारीलाई यस्तो कुरामा सहयोग र सल्लाह दिने प्रमुख व्यक्ति नै माधवकुमार नेपाल हुन् ।
यस्ता सफल नेताहरूलाई ओलीले आफ्नो प्रधानमन्त्रित्वकालमा एकरत्ति पनि गणना गरेनन् । अन्ततोगत्व वरिष्ठ नेताद्वय नेपाल र खनालले विद्रोह गरेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी स्थापना गर्ने अवस्था बन्यो ।
एकीकृत समाजवादीले प्रतिनिधिसभामा १० वटा सिटमा जित हासिल गरेको छ । तर, यी १० सीट सरकार निर्माणमा निर्णायक भएका छन् । त्यसैले सरकार बनाउँदा कुनै समीकरणमा यस पार्टीको निकै ठूलो महत्त्व हुन आएको छ ।
नेपाली राजनीतिमा नेपालको व्यक्तित्वलाई हेर्दा एउटा अनुभवी, निष्कलङ्क र दूरदर्शी नेताको रूपमा लिने गरिन्छ । यहाँ विचारणीय कुरो के छ भने, अन्ततः पार्टी त फुट्यो तर फुट्ने कारणबारे कहिले पनि खोजबिन नगरेर ओलीपक्ष पहिले जस्तै बलियो पार्टीको धाक लगाउँदै अगाडि बढ्न थालेको छ ।
अहिले पनि सबै कार्यकर्ता मेरै हुन् भन्ने भ्रममा छन् ओली । जनता सम्प्रभु हुन्छन् । नेकपा (एमाले) पुनः सरकारमा गएपछि पहिलेजस्तै पुराना कार्यकर्ताहरूलाई छेउमा राखेर चैते कार्यकर्ताहरूलाई मात्र काखी च्यापी हिँडेका छन् । ओलीप्रति अझै सचेत बन्नुपर्ने स्थिति छ । ओलीले जुनबेला पनि संसद् भताभुंग गर्न सक्छन् । गत निर्वाचनमा सबै बामपन्थी एकै ठाउँमा मिलेर चुनाव लडेको भए के आज यस्तो अवस्था आउने थियो त ?
कहिलेकाहीँ छिमेकी मुलुक भारतमा के कसरी एकता गरेर चुनाव लडेका हुन्छन् । त्यतातिर पनि ध्यान जानुपर्छ । मोदीले आफै बहुमत ल्याउने अवस्था भए पनि साना–साना पार्टीलाई मिलाएर भारी बहुमत कसरी ल्याउन सकिन्छ भन्नेमा लागे ।
जब ओलीले रास्वपाजस्ता आफ्नो सिद्धान्त नमिल्ने पार्टीलाई समेत मिलाएर अगाडि बढेका छन् भने कम्युनिष्ट पार्टीका नेतृत्व गर्ने नेताहरू समान सिद्धान्त भएका पार्टीहरूलाई एक ठाउँमा ल्याउन किन नसक्ने ? बहुदलीय प्रणालीमा बहुमत बिना सरकार बनाउन नसक्ने प्रावधानका कारण यस्ता गठबन्धन अपरिहार्य देखिन्छ ।
कम्युनिष्ट पार्टीहरूमा सबैभन्दा ठूलो अवगुण के छ भने आफ्नो पार्टीबाहेक अर्कोलाई सिद्धान्तहीन र बेइमान भन्न बेर लाग्दैन । जनता सबै पार्टीको बारेमा पूर्णरूपमा जानकार छन् । त्यसैले आजको मागलाई विचार गर्दै सबै वामपन्थी पार्टीहरू एकै ठाउँमा आएर अहिलेदेखि तयारीमा लाग्दा अर्को चुनावमा फेरि दुई तिहाइ ल्याउने आधार बन्छ । होइन, नेताहरू षडयन्त्रमा मात्रै लाग्ने हो भने आगामी चुनावमा कन्तविजोग हुनबाट कसैले पनि रोक्न सक्दैन ।
आफ्ना समान सिद्धान्त बोक्ने पार्टीसँग नमिल्नु र गैरसिद्धान्त वादीलाई आफ्नो पक्षमा ल्याउन जे पनि गर्न पुग्नु वामपन्थी सिद्धान्त विपरीत क्रियाकलाप हो । यस्ता क्रियाकलापबाट सबै वामपन्थी पार्टीहरू आफ्ना मानसिकतालाई परिवर्तन गर्नै पर्दछ ।
यस देशमा अहिले पनि राजनेताको अभाव छ । बिपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मदन भण्डारी, सुशील कोइरालाजस्ता नेताहरू सधैँ मुलुकबारे सोच्थे । त्यस्तो नेता देशले अब कहिले पाउने ?