काठमाडौं, ३ बैशाख । कागेश्वरी मनोहरा नगरपालिका–९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा परीक्षण गराएका तीन सय जनाको रिपोर्ट नेगेटिभ आएको छ । बुधबार गरिएको -यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना नेगेटिभ आएको छ । बुधबार जाँच गरिएको तीन सय जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका मेयर कृष्णहरि थापाले जनाए ।
स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी महाशाखाका डा. अमृत पोखरेल, महेन्द्र अधिकारी र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा १५ जना स्वास्थ्यकर्मीको टोलीले बुधबार बिहानदेखि सनसिटी अपार्टमेन्टको ब्लक (ए) मा रहेकाहरुको कोरोना परीक्षण गरेको हो ।
मंगलबार सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण सुरु भएको हो । अर्पाटमेन्टमा ५ सय परिवारका करिब १२ सय जना बस्दै आएका छन् । मंगलबार एक ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
नगरपालिकाले अपार्टमेन्ट आसपास क्षेत्रमा कडाइ गरेको छ । कोरोना जोखिम बढेपछि उक्त क्षेत्रमा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ । वडाले एक सूचना जारी गर्दै खाद्यान्न, तरकारी र डेरी पसल बिहान ४ बजेदेखि ८ बजेसम्ममात्र संचालन गर्न अनुरोध गरेको छ ।