काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्ने तयारी गरेको छ ।
नेपाल सरकारले स्थानीय तह मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याडको लागि रकम उपलब्ध गराउँदै आएको छ । तर, उक्त स्यानिटरी प्याड सरकारी मापदण्ड अनुसार खरिद वितरण र गुणस्तर नभएको भनी विभिन्न सङ्घसंस्था र सञ्चार माध्यमबाट गुनासो आएपछि मन्त्रालयले विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको हो ।
हाल प्रभावमा रहेको स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ को अनुसूची १ मा रहेको मापदण्ड पुनरावलोकनका लागि आवाज उठिरहेको थियो । वर्तमान कार्यविधि बनाउँदा नेपालका लागि स्यानिटरी प्याडको गुणस्तर मापदण्ड निर्धारण भइसकेको थिएन । तर, पछि नापतौल तथा गुणस्तर विभागले गुणस्तर निर्धारण गरेको थियो ।
यही आधारमा सो कार्यविधिका प्रावधानहरू संशोधन गर्दै मन्त्रालयले स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि को संशोधित मस्यौदा तयार गरेको छ । सो संशोधित कार्यविधिको संशोधन मस्यौदामा सरोकारवाला र विज्ञहरूको सुझाव लिन मन्त्रालयले छलफल कार्यक्रम राखेको हो ।