जेनेभा, ४ वैशाख (एपी/एएफपी) । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।
अमेरिकामा ६ लाख ४४ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ४८२ जनाको मृत्यु भएको थियो ।
दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २१ हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६५ हजार नाघेको छ । स्पेनमा भने १८ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८० हजार नाघेको छ ।
कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार १६७ जना र बेलायतमा १२ हजार ८६८ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार ४४० जना, जर्मनीमा ३ हजार ८०४ जना, नेदरल्यान्ड्समा ३ हजार १३४ जना, स्वीट्जरल्यान्डमा एक हजार २३९ जना, स्वीडेनमा एक हजार २०३ जना र आयरल्यान्डमा ४४४ जनाको मृत्यु भएको छ ।
संयुक्तराज्य अमेरिकामा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोक्नु भएको छ ।
परिस्थिति जटिल बनेको भए पनि मानिसको आवागमन र व्यवसाय खोल्नेतर्फ राष्ट्रपति ट्रम्पले प्रस्तावहरू अघि बढाउनु भएको छ, तर राज्यका गभर्नरसँग यही विषयमा मतभेद उत्पन्न भएको छ ।
यस्तै, इरानमा ७६ हजार ३८९ संक्रमित छन् भने ४९ हजार ९३३ जान निको भएका छन् । यहाँ ४ हजार ७७७ जानको मृत्यु भएको छ । बेल्जियम अहिलेसम्म ३३ हजार ५७३ संक्रमित भएका छन् भने ४ हजार ४४० जना निको भएका छन् । यहाँ संक्रमणबाट ७ हजार १०७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, जर्मनीमा १ लाख ३४ हजार ७५३ जना संक्रमित भएका छन् भने ७७ हजार निको भएका छन् । यहाँ संक्रमणबाट ३ हजार ८०४ जनाले ज्यान गुमाएका छन् । यस्तै, चीनमा अहिलेसम्म ८२ हजार ३४१ जना संक्रमित भएका छन् भने यहाँ ७७ हजार ८९२ जना उपचारपछि निको भएका छन् । चीनमा संक्रमणबाट ३ हजार ३४२ जनाले ज्यान गुमाएका छन् । नेदरल्यान्ड्समा २८ हजार १५३ जना संक्रमित भएका छन् भने २५० जना निको भएका छन् । यहाँ ३ हजार १३४ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, पछिल्लो समय दक्षिण एसियाली मुलुकहरु पनि संक्रमणबाट प्रभावित हुँदै गएको छ । भारतमा अहिलेसम्म १२ हजार ४५६ संक्रमित देखिएका छन् भने यहाँ १ हजार ५१३ जना निको भएका छन् भने ४२२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, पाकिस्तानमा पनि संक्रमित बढ्दै गएको छ । यहाँ ६ हजार ५०५ जना संक्रमित देखिएका छन् । त्यसमध्ये १ हजार ६४५ जना निको भएका छन् भने यहाँ १२४ जनाले ज्यान गुमाएका छन् । बंगलादेशमा १ हजार २३१ जना संक्रमितमध्ये ४२ जना निको भएका छन् भने ४९ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा ७८४ जना संक्रमित देखिएका छन् भने ४३ जना उपचारपछि निको भएका छन् । यहाँ २५ जनाको ज्यान गएको छ । श्रीलंकामा २३८ जनामा संक्रमण देखिएको छ भने ६३ जना निको भएका छन् । यहाँ अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन्
माल्दिप्स, नेपाल र भुटानमा अहिलेसम्म एक जनाको पनि ज्यान गएको छैन । माल्दिभ्समा २३ जनामा संक्रमण देखिएकामा १६ जना निको भएका छन् ।
नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ भने एक जना निको भएर घर फर्किएका छन् । त्यस्तै, भूटानमा ५ जनामा संक्रमण देखिएकामा २ जना उपचारपछि सञ्चो भएका छन् ।