दमौली (तनहुँ) । जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि सेवाग्राहीको भीड बढेर सास्ती भएपछि पालिकागत तालिका बनाएर सेवा दिन माग गरिएको छ । कार्यालयमा दैनिक सयौँको सङ्ख्यामा राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको भीड बढेपछि पालिकागत समय निर्धारण गरी सेवालाई सहज बनाउन माग गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले आज प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय परिचयपत्रका लागि सहज रुपमा सेवा पाउने वातावरण सिर्जना गर्न माग गरेको हो । विशेषगरी ज्येष्ठ नागरिकहरुले भोग्नुपरेका समस्या समाधानका लागि पालिकागत तालिका बनाइ सेवा प्रवाह गर्न आग्रह गरिएको रास्वपाका जिल्ला संयोजक विश्व बाँस्तोलाले जानकारी दिए ।
कार्यालयमा हाल चारवटा दर्ता कक्षबाट सेवा प्रवाह भइरहेको छ । ती कक्षबाट दुई सय ५० जनालाई मात्रै सेवा दिन सकिने भए पनि सेवाग्राहीको भीड भने पाँच÷छ सयको हुने गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।