Logo
Logo

साउनदेखि राष्ट्रिय परिचयपत्रमा हुने क्युआरमार्फत लाइसेन्स चेकजाँच हुने


3.2k
Shares

काठमाडौं । आगामी साउन महिनादेखि राष्ट्रिय परिचयपत्रमा हुने क्यूआर कोडमार्फत सवारी लाइसेन्स चेकजाँच हुने भएको छ । लाइसेन्स छपाइमा ढिला भइरहेका कारण सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेहरूलाई परिचयपत्रमै लाइसेन्सको विवरण राख्न लागेको हो ।

त्यसअनुसार आगामी साउन महिनादेखि ट्राफिक प्रहरीले परिचयपत्रमा हुने क्युआर कोडमार्फत लाइसेन्स चेकजाँच गर्नेछन् ।गृहअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यससम्बन्धी तयारी पूरा गरिसकेको र यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको विभागका निर्देशक मुकेश केसरीले बताए ।

मन्त्रिपरिषद्बाट निर्णय भएपछि लाइसेन्स छाप्न आवश्यक नहुने उनले बताए । परिचयपत्रले नै लाइसेन्सको काम गर्ने र ट्राफिक प्रहरीले परिचयपत्रमा हुने क्युआर कोडमार्फत लाइसेन्स चेकजाँच गर्ने उनको भनाई छ ।

निर्देशक केसरीका अनुसार विभागले हाल दैनिक १८ हजार राष्ट्रिय परिचयपत्र छाप्दै आएको छ । तर, यसको उपयोगिता नभएकाले सर्वसाधारण लिन गएका छैनन् । ३० लाखभन्दा धेरै परिचयपत्र सरकारी कार्यालयमा थन्किएका छन् ।

अर्काेतर्फ १५ लाखभन्दा धेरै नागरिक लाइसेन्स छपाइको प्रतीक्षामा छन् । परिचयपत्रले नै लाइसेन्सको काम गर्ने भएपछि यो समस्या समाधान हुने आधारमा दुवै निकायले छलफल गरेर यससम्बन्धी प्रस्ताव अघि बढाएका हन्  ।

विभागको प्रस्तावअनुसार लाइसेन्सको फारम भर्न तथा नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिनेछ र यसो गर्दा विभागले बायोमेट्रिकलगायतको दोहोरो विवरण पनि लिनुपर्दैन । यसले सर्वसाधारणलाई पनि सहज हुने र यातायात कार्यालयको कार्यबोझसमेत घट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्