ओडिशा (भारत) । भारतीय जनता पार्टी (भाजपा) नेता मोहन चरण माझी ओडिशाको नयाँ मुख्यमन्त्री बनेका छन् । मङ्गलबार भएको दलको बैठकमा माझीलाई ओडिशामा भाजपाको विधायक दलको नेता चयन गरिएको हो ।
पार्टीका नवनिर्वाचित विधायकहरूको बैठकपछि सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले यो निर्णय घोषणा गरेका हुन् । उनका अनुसार कनक वर्धन सिंह देव र प्रवती परिडा उपमुख्यमन्त्री हुनेछन् ।
लोकसभा चुनावको साथमा भएको विधानसभा चुनावमा बहुमत प्राप्त गरेपछि भाजपाले ओडिशामा आफ्नो पहिलो सरकार बनाउने तयारी गरेको हो ।
राजनाथ सिंह र केन्द्रीय मन्त्री भूपेन्द्र यादव विधायकहरूको बैठकको लागि पार्टीको केन्द्रीय पर्यवेक्षकको रूपमा राज्यको राजधानी भुवनेश्वरमा रहेका थिए । ओडिशा विधानसभामा भाजपाले १४७ सिटमध्ये ७८ सिट जितेको छ ।