चितवन, ५ बैशाख ।
भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । पिसिआर मेसिनबाट भएको जाँचमै पोजेटिभ देखिएको हो । थप यकिन गर्न पुन परीक्षणकोस्वाब काठमाडौं पठाइएको छ । भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो ।
अस्पतालले दुई नमुना थप परीक्षणका लागि काठमाडौं पठाइएको जनाएको छ। उनीहरू राप्ती नगरपालिकाका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए।
अस्पतालबाट ३६ वटा नमुना प्रयोगशाला पठाइएकोमा बिहीबार साँझ ३१ वटाको रिपोर्ट आएको थियो। ती सबै नेगेटिभ थिए। बाँकी पाँचवटाकोराति अबेर रिपोर्ट आएको थियो। तिनमा तीनवटा नेगेटिभ पुष्टि भएको र दुइटा थपपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको पौडेलले जानकारी दिए। ती दुवै व्यक्ति एक महिनाअघि विदेशबाट आएका हुन्। उनीहरूमा अहिलेसम्म कुनै खाले लक्षण नदेखिएको र अवस्था सामान्य रहेको पौडेलको भनाइ छ।
भरतपुरमा अहिलेसम्म २१४ जनाको स्वाब परीक्षण भएको छ। भरतपुर अस्पतालले फागुन १८ गते नै कोरोना उपचारका लागि पाँच शय्याको आइसोलेसन वार्ड बनाएको थियो। अहिले आइसोलेसन वार्ड ३० शय्याको छ।
जिल्ला स्वास्थ्य कार्यालयले विदेशबाट फर्केर १७ दिन होम क्वारेन्टाइनमा बसेकाहरूको आरडीटी सुरु गरेको छ। राप्तीमा एक जनामा आरडीटी गर्दा एन्टिबडी देखिएको थियो। उनीहरूका परिवारका अन्य दुई जनालाई पनि भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो।