Logo
Logo

प्रचण्डसँग बाबुरामले लिएको बदला !


4.9k
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबिच झन्डै चार दशक लामो राजनीतिक सहकार्यको इतिहास छ । सशस्त्र द्वन्द्वदेखि संविधान निर्माणसम्म दुवै नेता एकै पार्टीमा एकै ठाउँ उभिएका थिए । त्यसैकारण पनि यी दुई नेताबीच कुनै पनि बेला एकता, सहकार्य हुनु नौलो होइन ।

हुन त, राजनीतिमा छुट्टिनु र जोडिनु नौलो होइन । माओवादी छोडेपछि बाबुराम र प्रचण्ड निकै टाढिएका थिए । तर, ०७९ को चुनावले दुवै नेतालाई नजिक ल्यायो । प्रचण्डलाई डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखामा लगे । भारी मतले जिताएर पनि पठाए । प्रचण्ड अहिले त्यसको बलमा प्रधानमन्त्री छन् । 

प्रधानमन्त्री प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाड्दै गोरखा पुर्याएका  बाबुरामले भावी प्रधानमन्त्री भन्दै खुसी साट्ने गर्थे । छोरी मानुषीलाई काठमाडौंबाट निर्वाचनमा उठाएका बाबुरामले गोरखाबाट प्रचण्डलाई जिताउन ठूलो भूमिका नै निर्वाह गरे । तर, उनीहरूको त्यो हार्दिकता लामो समय भने चल्न सकेन । 

प्रचण्ड र बाबुरामबीच आपसी मनमुटाव, तिक्तता र  खटपट नै चलिरहेको छ । त्यसैकारण प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग बाबुराम अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी(नेसपा) बीच अन्तिम चरणमा पुगेको पार्टी एकता भाडियो । 

त्यसपछि प्रचण्ड–बाबुरामको सम्बन्धन तिक्तता बढ्यो । गण्डकी प्रदेशका माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित सांसदले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि प्रचण्ड र बाबुरामबीचको तिक्तता थप पेचिलो बनेको छ । 

समाजवाीमोर्चा घोषणासम्म आइपुग्दा दुई नेताहरू विवादको उत्कर्षमा पुगिसकेका थिए । उनीहरू अब मिल्न सकिन्न है भन्ने अवस्थामा पुगेपछि नेसपामा अर्का अध्यक्ष महिन्द्र राय यादवलाई एकताका लागि पत्राचार गर्नेदेखि अनेक विषय चले । यादव पक्षले माओवादीसँग एकता गर्ने निर्णय गरिसक्दा बाबुराम भने धोका दिएको भन्दै छुट्टिन पुगे । 

प्रचण्डले आफ्नो पार्टी फुटाइदिएको भन्दै आक्रोश पोखेका बाबुरामले महिन्द्र राय यादव लगायतका नेताहरू माओवादीमा जाने निर्णयलाई खास वास्ता नगरेको दाबी गरेपनि गण्डकीमा एकल चुनाव चिन्हबाट निर्वाचित भएका फणीन्द्र देवकोटाले फ्लोर क्रस गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि स्थिति अर्को ठाउँमा पुगेको छ । 

प्रधानमन्त्री प्रचण्ड आफैले पनि फ्लोरक्रस गर्नेमाथि कारबाही हुने चेतावनी दिइसकेका छन् । प्रचण्डले कारबाही गर्ने चेतावनी दिएपछि नेसपाले विज्ञप्ति जारी गर्दै कारबाही गर्न सक्ने स्थिति नरहेको दाबी गरेको छ । माओवादी केन्द्रले नेसपा सांसदलाई कारबाही गर्न नमिल्ने तर्क नेसपाको छ । 

नेसपा छुट्टै दल भएको र एकल निर्वाचन चिन्हबाट निर्वाचित भएपनि निर्वाचन आयोगले नेसपाको सांसद भनेर मान्यता दिएको नेसपाको दाबी छ । तर, कानूनतः एकल निर्वाचन चिन्हबाट निर्वाचित सांसदमा धेरै संख्या जित्ने दलको नेतृत्वमा संसदीय दल बन्ने र दलभित्र रहेका सबै सांसदलाई ह्वीप लाग्ने व्यवस्था छ । 

एउटा दलको सदस्य अर्कै दलको चुनाव चिह्नबाट निर्वाचित भएमा त्यस्तो सदस्यको हैसियत निर्वाचित भएपछि के हुने भन्ने कानुन प्रस्ट छैन । कानुनविद्हरूको पनि यसमा मत बाझिएको छ । 

गण्डकी प्रदेशमा फ्लोरक्रस गरेपछि नेसपा सांसद फणीन्द्र देवकोटाले मन्त्री पद उपहार पाएका छन् । जोखिम मोल्दै विश्वासको मत दिएका देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऊर्जा मन्त्रीको जिम्मेवारी दिएका छन् । 

देवकोटाले पनि पार्टी निर्देशन मानेको दाबी गरिरहेको बेला उनलाई दिइएको मन्त्री पद उपहार कति दिन सम्म टिक्ने हो भन्ने माओवादी केन्द्रले चाल्ने कदमले धेरै कुरा खुल्ने अपेक्षा गरिएको छ ।

प्रचण्ड बाबुरामलाई धेरैले झेल्न नसक्ने नेताको रुपमा व्याख्या गर्छन् भने बाबुराम प्रचण्डलाई अस्थिर चरित्रको नेता भन्ने गरेका छन् । १० वर्षे जनयुद्धमा सहभागी भएका दुई नेताहरूबिच कुनै बेला बराबरको जस्तो सम्बन्ध रहेपनि प्रचण्डले आफू अनुकुलका निर्णय भने जहिले पनि गराउन सफल रहे । 

तर, नेसपासम्म आइपुग्दा एकोहरो प्रचण्डले बाबुरामलाई पेलेपछि गण्डकीमा बाबुरामले आफ्नो बल प्रयोग गरेका छन् । यसले दुई नेताहरूको सम्बन्ध थप चिसिने त होइन भन्ने शंका थप बलियो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्