काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रका क्यान्टिनमा काममा लगाइएका बाल श्रमिकको उद्धार गरेको छ । महानगरको सामाजिक विकास विभाग र नगर प्रहरीको टोलीले चार जना बालबालिकाको उद्धार गरेको हो ।
उद्धार गरिएका चारै जना बालबालिका सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूमा काममा लगाइएका थिए। टोलीले सेन्ट्रल क्यान्टिनबाट दुई जना बालिका, उद्योग मन्त्रालयको क्यान्टिनबाट एक बालक र ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको क्यान्टिनबाट एक बालक गरी चार जना बालबालिकाको उद्धार गरेको जनाएको छ ।
उद्धार गरिएका बालबालिकालाई बाल संरक्षण गृहमा राखिएको महानगरले जनाएको छ । केही दिनदेखि बाल श्रमिक विरुद्ध अभियान चलाइरहेको महानगर बुधवार सिंहदरबारभित्र अनुगममा गएको थियो ।
काठमाडौंका विभिन्न क्षेत्रमा बालबालिकामाथि शारीरिक तथा श्रम शोषण भइरहेको सूचना प्राप्त भएपछि उनीहरूको उद्धारका लागि महानगरले एक वर्ष लगाएर ‘बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको थियो ।
अहिले सोही कार्यविधि अनुसार स्वयंसेवक खोजी, पीडित बालबालिका खोजीदेखि उद्धार र दीर्घकालीन व्यवस्थापन गर्न लागिएको हो ।