काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक अहिले बिहान ११ बजे बोलाइएकाे छ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ ।
संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
साथै, प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो । हिजोको बैठकमा सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।