Logo
Logo
टी-२० विश्वकप

आज बंगलादेश र नेदरल्यान्ड्स भिड्दै, सुपर-८ मा पुग्न दुवैलाई जित्नैपर्ने दवाव


630
Shares

काठमाडौं । अमेरिका र वेष्टइण्डिजमा जारी आईसीसी टी–२० विश्वकपमा आज बंगलादेश र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । खेल किङ्सटाउनस्थित अर्नोस भेल स्टेडियममा नेपाली समयअनुसार राति २०ः १५ बजे सुरु हुनेछ ।

टेस्ट राष्ट्र बंगलादेश र नेदरल्यान्ड्स दुवै टोली समूह ‘डी’बाट ‘सुपर–८’ चरणमा पुग्न संघर्षरत छन् । उक्त समूहबाट दक्षिण अफ्रिका यसअघि ‘सुपर–८’ चरणमा पुगिसकेको छ । यो समूहमा हालसम्म ६ खेल सम्पन्न भइसकेका छन् ।

समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएका थिए । तेस्रो खेलमा बंगलादेशले अर्को टेस्ट राष्ट्र श्रीलंकामाथि दुई विकेटको जित हासिल गरेकोे थियो ।

अंक तालिका हेर्दा प्रतियोगिताको सुपर–८ चरणमा पुग्न नेदरल्यान्ड्स र बंगलादेश दुबैले बाँकी खेल जित्नैपर्ने हुन्छ । बंगलादेशले समूहगत चरणमा आफ्नो अन्तिम खेल नेपालसँग खेल्नेछ । नेदरल्यान्ड्सले भने आफ्नो अन्तिम खेल श्रीलंकासँग खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा बंगलादेश नवौँ र नेदरल्यान्ड्स १५ औँ स्थानमा छन् । यी दुबै राष्ट्र अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा यसपटक सिधै विश्वकपमा सहभागी भएका हुन् ।

बंगलादेश र नेदरल्यान्ड्सबिच भएको चार टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये दुईवटा खेल विश्वकपमै खेलिएको थियो । विश्वकपमा खेलिएको दुबै खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

नेदरल्यान्ड्स र बंगलादेशबिच खेल हुने दिने बिहीबार किङ्सटाउनमा वर्षाको सम्भावना २५ प्रतिशत रहेको समाचारमा जनाइएको छ । बिहीबार किङ्सटाउनको तापक्रम २६ देखि ३२ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्