ताप्लेजुङ । गएरातिदेखि परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् ।
फक्तालुङ गाउँपालिका–५ का वडाध्यक्ष देउप्रसाद लिम्बुका अनुसार पुल बगाएपनि अहिले मानवीय क्षति भने भएको छैन । उक्त काठको पुलमा गाडी, मोटरसाइलसमेत हिँड्थे ।
सिसावा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी थुनिएको समेत उनले बताए । उनले भने, ‘माथि खासै जोखिम छैन । तर, तल तमोर थुनिएर अलि त्रास बढेको छ ।’
वडाध्यक्ष लिम्बुले बिहानै साढे ६ बजेको समयमा आएको बाढीले पुल बगाएको बताउँदै भने, ‘बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् । अर्को ठाउँबाट खोला तर्न आधाघन्टा माथि झोलुंगे पुलमा पुग्नुपर्छ ।’
भिडियो : महेश लाबुङको फेसबुकबाट साभार