काठमाडौं । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित दाङबाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवं छात्रावास भवनको आज शिलान्यास गरिएको छ ।
ऐरावती गाउँपालिकाका अध्यक्ष नवील विक्रम शाह र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले भवनको संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
भारत सरकारको रु तीन करोड ३९ लाख आर्थिक सहयोगमा यो परियोजनाको निर्माण गरिनेछ । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो ।
भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवं छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो ।
यस परियोजनाको कार्यान्वयन ऐरावती गाउँपालिका, प्यूठानमार्फत गरिनेछ । कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।
विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा र आवास सुविधा प्रदान गर्न विद्यालयको नयाँ विद्यालय एवं छात्रावास भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउने दूतावासले जनाएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । साथै चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये प्यूठानका दुई वटा परियोजनासहित लुम्बिनी प्रदेशमा विभिन्न क्षेत्रमा ६१ वटा परियोजना छन् ।