उनी चित्र कोर्छिन् र अरुलाई पनि सिकाउँछिन् । करिब तीन दशकदेखि चित्रकलामा रमाउँदै आएकी सरिता डंगोलको दिनचर्या रंगहरुसँगै बित्छ । उनी रंग र चित्रमा जीवनको कल्पना गर्छिन् । सरिता भन्छिन्, ‘रंगहरुविनाको जीवन त कल्पना गर्नै सक्दिनँ ।’ उमेरले पचास बसन्त पार गरिसकेकी सरिता सानैदेखि चित्र कोर्न रुचाउँथिन् ।
अरुले चित्र बनाएको हेर्दाहेर्दै चित्रकारिताप्रति मोहित बनेकी सरिता भन्छिन्, ‘चित्र कोर्नु र सिकाउनु अहिले मेरो दिनचर्या बनेको छ ।’ १३ वर्षको उमेरदेखि रंगसँग खेल्न थालेकी सरिताले ललतिकला क्याम्पसबाट चित्रकलामा स्नाकोत्तर गरेकी हुन् । हाल विभिन्न कलेज र संस्थाहरुमा आर्ट विषयमा अध्यापनसमेत गराउदै आएकी चित्रकार सरिता डंगोलसँग रेजिना पाण्डेको जम्काभेट ।
चित्रकलाप्रति किन र कसरी आकर्षित हुनुभयो ?
मलाई सानैदेखि चित्रकलामा रुची थियो । अरुले बनाएका चित्रहरु हेर्थेँ । मलाई जनावर, मान्छेको हाउभाउ र समाजको रितरिवाजहरु देख्दा निकै आकर्षित हुँन्थे । त्यसलाई कलमको साहाराले पेपेरमा उतार्थेँ । १३ बर्षको उमेरमै मैले धेरै पुरस्कारहरु पाइसकेकी थिएँ ।
सुरुवाती दिनमा चित्र कोर्दा प्रतिक्रिया कस्तो पाउनुभयो ?
किसान परिवारको छोरी भएपनि मेरो बाबा सरकारी उच्च ओहोदाको जागीरे र आमा स्विटरको व्यापार गर्नु हुन्थ्यो । आमा बाबाले सधंै पढ, राम्रो जागिर या व्यवसाय गर भन्नुहुन्थ्यो । विस्तारै मेरो कला र लगनशिलतालाई बुझेर होला, आमाबुवाको राम्रो साथ पाएँ । त्यो बेला पनि कतिले गाली गरे, कतिले सम्मान गरे । जसले जे गरेपनि मलाई चित्रकारिताले तानिरहयो । मैले कुचि र रंगहरुसँग रमाउनु थियो । ललितकला क्याम्पस जोइन गरेँ । र, आर्टमा स्नाकोत्तर गरेपछि आज पनि म यही रगंहरुसँग खेलिरहेको छु ।
तीन दशकदेखि चित्रकलामा सक्रिय हुनुहुन्छ । यो क्षेत्र कस्तो लागिरहेको छ ?
सुुरुका दिनमा यो नचाहिँदो काम हो भनेर हेप्नेहरुका लागि आज योग्य भएको छु । त्यसमा खुशी लाग्छ । हरेक कामको आफनै बिशेषता हुन्छ । मैले चित्र बनाउन सिकेँ । चित्रकारिता मेरो पेसा भएको छ । मेरो आफनै आर्ट ग्यालरी पनि छ ।
तपाइँले आफ्नो पहिलो चित्र कतिमा बेच्नुभएको थियो ?
धेरै चित्रकारका चित्रहरु संयुक्त रुपमा एउटै आर्ट ग्यालरीमा राखिएका थिए । त्यतिबेला मैले पनि प्रकतिक र सामाजिक परिवेशमा बाँधिएका केही चित्रहरु प्रदर्शनका लागि राख्ने मौका पाएकी थिएँ । त्यो समय एक विदेशी नागरिकले ८ हजारमा मेरो चित्र किन्नुभएको थियो । आजसम्म मेरो धेरै चित्रहरु बिकिसकेका छन् ।
तपाइँले आफना चित्रहरु कतिसम्म बेच्नुभएको छ ?
चित्र र चित्रको साइज हेरेर हुन्छ । मैले बनाएका चित्रहरु आठ हजारदेखि ३० हजारसम्म बिक्री भएको छ ।
यसको अर्थ चित्रकारिता गरेर पनि जीवन चल्छ ?
चित्र बनाएर जिविका चलाउनेहरु धरै छन् । यही चित्रबाट नाम, दाम र इमान कमाएका थुप्रै उदारण छन् । आफनो भाग्य कुरा पनि होला ।
चित्रहरु नेपालीले कतिको किन्छन् ?
नेपालीले पनि किन्छन् । तर, प्रायः बिदेशी बढी किन्छन् किनकि विदेशीहरु आर्टप्रति धेरै मोहित छन् ।
तपाइँले बनाएका चित्रहरु कुनै प्रातिष्ठित संस्थाहरु राखिएको छ कि छैन ?
धेरै ठाउँमा छन् । विशेषगरी प्राईभेट कम्पनीहरु हस्पिटल र सरकारी कार्यलयहरुमा मैले बनाएका चित्रहरु राखिएको छ । आफुले बनाएको चित्रहरु सरकारी कार्यालयको भित्तामा राखेको देख्दा मन आनन्दित र खुसी लाग्छ ।
नेपालमा चित्रकारहरुको अवस्था कस्तो छ ?
राम्रो छैन भनौँ भने यही क्षेत्रमा बषौँदेखि लागेर जीवन जिउँदै आएकाहरु धेरै जना हुनुहुन्छ । नयाँ पुस्ताको पनि यो क्षेत्रमा आगमन भइरहेको छ । राम्रो छ भनौँ भने चित्रहरु किन्ने माहोल हामी नेपालीमा कम छ । हामी बिदेशीकै भरमा हुन्छौँ ।
तपाइँलाई चित्रकला क्षेत्रलाई राज्यले के गरे हुन्थ्यो भन्ने लाग्छ ?
यही क्षेत्रमा रमाइरहेकाहरुलाई अवसरहरु दिनुप¥यो । पुराना चित्रकारहरुलाई सम्मान गरियोस् र नयाँलाई अवसर । बषाँैदेखि चित्र बनाएर जीवनयापन गरिरहेका कलाकारलाई राज्यले गहना सम्झेर सुबिधा दिइयो भने उनीहरुलाई अझ प्रोत्साहन मिल्थ्यो कि ।
फरक क्षमता भएका व्यक्तिहरुलाई चित्रकला पढाउनुहुन्छ, कतिको गाह्रो छ ?
कलालाई सम्मान गर्ने मान्छे हुँ म । सक्षम व्यक्तिलाई मात्र कला सिकाउनुपर्छ भन्ने धारणा राख्नु गलत हो । मैले समाजका सबै वर्गलाई समेट्न सके राम्रो हुन्छ भन्ने ठानेँ र उहाँहरुलाई पनि कलाबारे बुझाउन सकिन्छ भनेर यो कदम चालेको हुँ । ग्राह्रो र सजिलोको त कुरै छैन । रहर लाग्नेलाई आफुले जानेको सिप सिकाउनु ठुलो कुरा हो । रहरलाई कसैले छेक्न सक्दैन ।
तपाइँलाई यस्तो सोच कसरी आयो ?
हरेक क्षेत्रमा धेरै जना आफनो फरक क्षमता भएको कारणले दुःख पाइरहेका छन् । चाहँदा नचाहँदै पनि सिक्ने अवसर नपाएकाहरुको लागि हामीले जानेको सिप सिकाउनु राम्रो ठानेर यो कदम चालेका थियौँ । हामीले सुरुमा तीन जनाबाट सिकाउन सुरु गरेका थियौँ ।
तपाइँको सोच र कदमले समाजले के पाएको छ ?
हरेक क्षेत्रमा समाजले अलग आँखाले हेरिरहेका यस्ता युवालाई अगाडि ल्याएर काम गर्न सिक्ने गर्ने अवसर पाए । उनीहरु आफैँ पनि केही हदसम्म उदारदाणीय बन्छन् जस्तो लाग्छ । सकारात्मक सन्देश फैलाउने हामी मानिसको कर्तव्य हो । यस्तै, सकरात्मक सोचका कारण आज धेरै देशमा शारीरिक कमजोरी भएका युवाले उदाहरणीय कामहरु गदै र गरिरहेका छन् ।
तपाइँ बालबालिकालाई चित्रकला सिकाउनु हुन्छ है ?
हो, बालबालिकालाई चित्रकला सिकाउँदा रमाईलो लाग्छ । उनहीरु चाँडै सिक्छन् । उनीहरुले चित्रकलाप्रति सकारात्मक सोच देखाएको देख्दा खुसी लाग्छ ।
तपाइँकी छोरी पनि यही क्षेत्रमा छिन्, कस्तो लाग्छ ?
खुशी लाग्छ । उ पनि रंगसँग रमाइरहेकी छिन् । उसको पनि आर्ट ग्यालरीप्रति लगाव छ ।
पढाउने, चित्र कोर्ने र ग्यालरी चलाउने समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
आफ्नो आवश्यकता पूर्ति गर्न समय आफैँले निकाल्नुपर्छ । आफैँले मिलाउनु पर्छ । काम गर्दा परिवार बिगार्नु भएन । परिवारलाई बुझेर आफनो जिम्मेवारीलाई पुर्ण रुपले लैजान सक्नुपर्छ । त्यो कुरालाई अहिलेसम्म व्यवस्थापन गर्न सफल हुँदै आएकी छु ।
तपाइँ लागि चित्र के हो ?
–मेरो उर्जा, जो मेरो जीवनको महत्वपूर्ण अंग पनि हो ।