काठमाडौं । आगामी वर्षका लागि सरकारले ल्याएको बजेटमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्रै विवाद देखिन थालेको छ ।
बजेट प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धताअनुसार आउन नसकेको भन्दै माओवादीकै शीर्ष नेताहरुले आलोचना गर्न थालेपछि अर्थमन्त्री वर्षमान पुन दबाबमा परेका छन् ।
माओवादी सांसदहरुले सार्वजनिक रुपमै बजेटले सहि बाटो समात्न नसकेकोदेखि परम्परा पछ्याएको आरोप लगाइरहेका छन् । माओवादी केन्द्रका सांसद समेत रहेका नेता माधव सापकोटाले बजेट परम्परा धान्ने गरि आएको भन्दै यसको गम्भीर आलोचना गरे ।
सापकोटाले बजेटले मुलुकको विकास समृद्धि र समाजवादतर्फको बाटो समात्न नसकिने भन्दै आलोचना गरेको २४ घण्टा नबित्दै प्रभावशाली नेता जनार्दन शर्माले समेत बजेटमा सार्वजनिक आक्रोश पोखेका छन् ।
बजेट निर्माण गर्दा परम्परालाई मात्रै निरन्तरता दिएको भन्दै यो बजेटले नयाँ प्रगति गर्न नसक्ने शर्माको दाबी छ । उनल सरकारले परम्परागत बजेट निर्माण प्रक्रिया बदल्ने भनेपछ बदल्नुपर्ने भए पनि बदल्न नसकेको उल्लेख गरे।
उनले भने,‘प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षमा आगामी वर्षको बजेट नयाँ ढङ्गले बजेट प्रस्तुत गर्ने प्रतिवद्धता र घोषणा भएको थियो । प्रिबजेटमा नै बजेटलाई प्राथमिकता दिएर छलफल गर्ने र छलफलबाट आएका सुझावका आधारमा बजेट निर्माण गर्ने कुराले उत्साहका साथ लिएका थियौं। बजेटमा प्रधानमन्त्रीको घोषणा अनुसार अघि बढ्न सकेन ।’
उनले सरकारले निर्माण गर्ने बजेट पुरानै अवस्थामा रहेको भन्दै सुधार गर्न आवश्यक रहेको बताए। उनले बजेट प्रस्तुतपछि संसदमा बजेटका विषयमा भएका छलफलको औचित्य र आवश्यकता नभएको बताए ।
माओवादी केन्द्रभित्र बजेटलाई लिएर विरोध भइरहँदा अर्थमन्त्री पुन भने विभिन्न सार्वजनिक कार्यक्रममा बजेटको बचाउ गर्दै आएका छन् । बजेट सन्तुलित र वस्तुवादी रहेको उनको तर्क हुने गर्छ ।
बजेटमा सरकारले केहि नयाँ व्यवस्था गरेपनि साना र टुक्रे योजनालाई समेत न्यून बजेटीकरण गरिएको छ । संघीयतामा गइसकेको मुलुकले साना र टुक्रे योजनामा ध्यान केन्द्रित गर्न खोज्दा प्रदेश र स्थानीय तहको मर्ममाथि प्रहार भइरहेको आरोप लाग्नु स्वभाविक भएपनि बजेटमाथिका प्रश्न सरकारको नेतृत्व गरेको दलबाटै हुनुलाई अर्थपूर्ण ढंगले लिइएको छ ।
बजेट ल्याउने अर्थमन्त्री वर्षमान पुन र जनार्दन शर्मा पार्टीभित्रका आन्तरिक प्रतिष्पर्धी समेत हुन् । तर, प्रचण्डले दुई नेताहरुलाई समान हैसियतमा राखेर शक्ति सन्तुलन कायम गर्न खोज्ने गर्दा पछिल्लो समय नेकपाका महासचिव समेत रहेका नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा भित्र्याउने कोसिसमा प्रचण्ड देखिन्छन् ।
यस्तोमा वर्षमान र जनार्दनमा केहि मत मिलेपनि फेरि उनीहरु तीब्र प्रतिष्पर्धामा उत्रिन पुग्ने त होइनन भन्ने प्रश्न छ । तर, बजेटको आकार र प्रकारले हलचल ल्याउन थालेपछि अर्थमन्त्री पुन दबाबमा भने परेका छन् ।