काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (आइतबार)देखि सात दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ ।
विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौंका विभिन्न वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
त्यस्तै सोमबार कुलेश्वर वितरण केन्द्रको कालीमाटी फिडर अन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । मंगलबार बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
बुधबार कीर्तिपुर वितरण केन्द्रको कीर्तिपुर फिडर अन्तर्गतका पाँगा सडक क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । त्यस्तै बिहीबार कुलेश्वर वितरण केन्द्रको ताहाचल फिडर अन्तर्गतका कालीमाटी चोक क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
शुक्रबार वानेश्वर वितरण केन्द्रको बौद्ध क्षेत्रमा महाकाल फिडर अन्तर्गत पर्ने स्थानमा विद्युत् अवरुद्ध हुनेछ भने शनिबार कीर्तिपुर वितरण केन्द्रको रोपवे र मच्छेगाउँ फिडर अन्तर्गतका नगाउँ क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।मौसम प्रतिकूल भएको अवस्थामा भने विद्युत् आपूर्ति बन्द हुने छैन ।