- मोहनचन्द्र अधिकारी
काठमाडौं, ६ बैशाख । नेपाल कम्युनिष्ट आन्दोलनका शिखर पुरुष मोहनचन्द्र अधिकारीले शनिबार दृष्टि अनलाइनलाई संक्षिप्त प्रतिक्रिया दिँदै बाटोमा अलपत्र परेका यात्रुहरुको उद्दार र निम्नआय भएका श्रमिकहरुले राहत नपाएकामा गुनोसो गरेका छन् ।
‘लकडाउन’ अगाडि काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुका विषयमा सरकारले नसोच्दा अहिले समस्या आएको हो । अहिले पनि काठमाडौंबाट हजारौँको संख्यामा यात्रुहरु पैदल हिँडेर घरतर्फ लागेका छन् । तिनीहरुलाई सरकारले यातायातको व्यवस्था नगर्दा थुप्रै यात्रु भोकभोकै राजमार्गमा हिँड्न बाध्य छन् । तिनीहरुलाई अविलम्ब घर जाने वातावरण सरकारले बनाइदिनुपर्ने उनको भनाइ छ ।
सरकारले हिजोमात्र जो जहाँ छ, त्यसलाई त्यही ठाउँमा ‘क्वारेन्टाइन’मा राख्ने अदुरदर्शी निर्णय गरेको छ । यो निर्णयलाई सच्चाउँदै सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयन गरिनुपर्छ । घर जान हिँडेका यात्रुलाई बिच बाटोमै ‘क्वारेन्टाइन’मा राख्ने निर्णय अपरिपक्व र अदुरदर्शी निर्णय हो । यो निर्णयले सरकार श्रमिक, मजदूर, विद्यार्थी र न्यून आय भएका नागरिकको हितमा छैन भन्ने सन्देश आम जनतामा पुगेको छ ।
दु्ई तिहाइको जननिर्वाचित सरकारलाई नागरिकको समस्याबारे सर्वोच्च अदालतले सम्झाउनुपर्ने स्थिति आउनु नागरिक सरकारका लागि राम्रो कुरा होइन । त्यतिमात्र होइन, विदेशमा रहेका श्रमिकका विषयमा समेत सर्वोच्च अदालतले राम्रो निर्णय गरेको छ । विश्वभर छरिएर रहेका आफ्ना नागरिकप्रति सरकार जिम्मेवारीबाट पन्छिन हुँदैन । तिनीहरुलाई फिर्ता ल्याउँने पहल गर्नुपर्छ ।
अर्को कुरा, यो ‘लकडाउन’का कारण देशैभर काम गरेर खाने लाखौँ श्रमिकहरु मारमा परेका छन् । तिनीहरुलाई राहतको उचित व्यवस्था हुन सकेको छैन । राहतबाट ब्यञ्चित श्रमिक, सुकम्बासी, डेरावाल नागरिकलाई सञ्चारमाध्यमको सहयोगले राहत वितरण गरिएको समाचार सुन्दा सरकारलाई लाज लाग्नुपर्ने हो ।
यस्तो अवस्थामा सबै राजनीतिक दललाई समेटेर अगाडि बढ्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी आन्तरिक द्वन्द्वमा अल्झिनु दुःखको कुराको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय उच्चस्तरिय राहत समन्वय समिति गठन गर्ने प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै अस्विकार गरेका छन् । जसले गर्दा आमनागरिकमा सरकारप्रति असहिष्णुताको आरोप लागेको छ । देशैभरी कोरोना भाइरस संक्रमित व्यक्तिहरु बढ्दैछन् । तिनीहरुको जीवनरक्षा गर्ने दायित्व र जिम्मेवारी सरकारको हो । सँगसँगै यस्तो अवस्थामा कसैलाई पनि भोकै पर्न नदिने अर्को दायित्वसमेत सरकारले बोक्नुपर्ने बेला प्रतिपक्षसँग सहकार्य गर्दिन भन्नु प्रधानमन्त्रीको दम्भ हो’ अधिकारीले दृष्टिसँग भनेका छन् ।
‘यो राष्ट्रिय संकटको समाधान हामी सबै मिलेर गर्नुपर्ने बेला नेकपाका नेताहरु गुटबन्दीमा अल्झिनु राम्रो कुरा होइन । संकट सामधान गर्न सबैसँग मिलेर अगाडि बढ्नु बुद्धिमानी हो । कोरोना भाइरसको संक्रमणले देशभरी संकट निम्ताएको बेला यो रोगको सामधान गर्न सबै दलहरुले राष्ट्रिय संकल्प गर्नुपर्छ भन्ने मेरो मान्यता छ । म सत्तापक्ष, तँ प्रतिपक्ष भन्ने बेला यो होइन । किन भने, यो संक्रमणले नागरिकको जीवन अस्तित्वमाथि नै खतरा निम्ताउँदै छ । राजनीतिक मूल्य मान्यता, सिद्धान्त र दर्शन मानव जीवनको उच्च कल्याणका लागि गरिने हुँदा हामी सिंगो नेपाली जनताले यतिबेला उच्च मनोवलका साथ ‘बाँच र बचाऔँ’ भन्ने भावनाले अगाडि बढ्नुपर्छ’ अधिकारीले दृष्टि अनलाइनसँगको आफ्नो संक्षिप्त प्रतिक्रियामा भनेका छन् ।