Logo
Logo

जनार्दनले माओवादी फुटाउन लागेको हो ? 


9.4k
Shares

काठमाडौं । अरू दल फुटाउँदै सत्ता जोगाउने रणनीतिमा लागेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै पार्टीभित्रबाट अप्ठ्यारोमा परेका छन् । पछिल्लो समय माओवादी केन्द्र नै विभाजन हुने हल्ला समेत राजनीतिक वृत्तमा चल्न थालेको छ । विशेषतः उपमहासचिव जनार्दन शर्मा समूह माओवादीभित्र असन्तुष्ट छ ।

माओवादीको भित्रको असन्तुष्टि प्रदेश सरकार विस्तारदेखि बजेटकै विषयमा समेत देखिएको छ । माओवादी सांसदहरूले सार्वजनिक रूपमै बजेटले सही बाटो समात्न नसकेकोदेखि परम्परा पछ्याएको आरोप लगाइरहेका छन् । माओवादी केन्द्रका सांसद समेत रहेका नेता माधव सापकोटाले बजेट परम्परा धान्ने गरी आएको भन्दै यसको गम्भीर आलोचना गरेका छन् । 

नेता सापकोटाले बजेटले मुलुकको विकास समृद्धि र समाजवादतर्फको बाटो समात्न नसकिने भन्दै आलोचना गरेको २४ घण्टा नबित्दै प्रभावशाली नेता जनार्दनले समेत बजेटमा सार्वजनिक आक्रोश पोखेका छन् । उनले बजेट प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाए जसरी आउन नसकेको भन्दै बजेटले संघीयताको उपहास गरेको आरोप लगाएका छन् । 

बजेट ल्याउने अर्थमन्त्री वर्षमान पुन र जनार्दन शर्मा पार्टीभित्रका आन्तरिक प्रतिस्पर्धी समेत हुन् । तर, शर्माले वर्षमानलाई भन्दा पनि प्रचण्डमाथि नै पनि ठाडो प्रश्न गर्दै आएका छन् । प्रचण्ड र जनार्दनबिच गत फागुनमा माओवादी केन्द्रले पहिलोपटक विधान अधिवेशन गर्दा नै विवाद छताछुल्ल भएको थियो । विधान अधिवेशनमा जनार्दनको पूरक प्रस्तावले माओवादी केन्द्रभित्र तरंग ल्याएको थियो । उनले सबै पदमा महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने, मनोनयन र चयन बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए  । 

अर्कातर्फ आफूविरुद्ध गए मोहन वैद्य र नेत्रविक्रम चन्दको हालत बनाइदिने भन्दै प्रचण्डले घुमाउरो पाराले दिएको चेतावनी दिँदै आएका छन् । गत जेठ २३ गते पोखरामा आयोजित आन्तरिक प्रशिक्षणमा प्रचण्डले पार्टी होइन, गुट बनाउँदा समस्या आएको भन्दै आक्रोश पोखेका थिए । गुट बनाउने मात्र होइन, उनले पार्टी नै फुटाउने सोच्नेहरूको हालत मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवको जस्तो हुने चेतावनीसमेत दिएका थिए । 

विधान अधिवेशनबाट शर्माको प्रस्ताव पास भएपछि प्रचण्डले प्रतिशोध साँधेको रुपमा लिएका छन् । त्यसपछि प्रचण्डले जनार्दनलाई खासै जिम्मेवारी दिएका छैनन् । शर्मानिकट भनिने सुदूरपश्चिमका खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशको दलको नेताबाट हटाइएका थिए । त्यसपछि भट्टले पनि प्रचण्डको आलोचना गर्न सुरु गरेका थिए । जनार्दनले आफ्ना पक्षमा कति सांसद कति छन् भनेर छलफल समेत चलाइसकेका छन् । उनको पक्षमा संघीय संसद् र राष्ट्रियसभामा १५–१६ जना सांसद रहेको बताइन्छ । विधान अधिवेशनमा पनि शर्माको प्रस्तावको पक्षमा बढी नेताहरूको समर्थन रहेको बताइन्छ । 

अर्काेतिर पूर्वमाओवादी घटकहरू एक हुने भनेर प्रचण्डले लामै कसरत पनि हालसम्म कसैलाई मिलाउन सकेका छैनन् । प्रचण्डको चाहाना मिसन २०८४ मा पूर्वमाओवादी घटकहरू मिलाएर निर्वाचनमा जाने र शक्ति आर्जन गर्ने छ । तर, उनलाई आफ्नो पार्टीभित्रबाट झड्का लागिरहेको छ ।

अहिले पूर्वमाओवादीहरू एकताका लागि छलफलमा पनि जुट्न सकेका छैनन् । पूर्वमाओवादी नेताहरू बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द्र, आहुती लगायतका नेताहरू मिल्ने पक्षमा देखिँदैनन् । व्यक्तिगत स्वार्थका कारण धुजाधुजा भएको माओवादी अझै पनि जुट्ने भन्दा फुट्ने नै सम्भावना बढी भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्