Logo
Logo

‘एनजिओको खाजा’ काण्डले हंगामा, रामहरिमाथि उठ्यो गम्भीर प्रश्न 


3.9k
Shares

काठमाडौं । संसदीय प्रजातान्त्रिक व्यवस्थाको प्रमुख विशेषमध्येको एउटा संसद् हो । किनभने संसद्को सबैभन्दा महत्त्वपूर्ण काम कानुन निर्माण गर्नु हो । कानुन निर्माणको यो प्रक्रियामा संसद् सदस्यबीच पर्याप्त बहस र छलफल हुन्छ । अर्थात् कानुन बनाउँदा संसद् सदस्य मतदाताप्रति जबाफदेही हुनुपर्छ ।

तर, त्यही संसद्को कानुनबारे गम्भीर छलफल हुने संसदीय समितिमा गौरकानुनीरुपमा एनजिओको खाजा भित्रिएको पाइएको छ ।  कुनै स्वार्थ समूहका एजेन्डा घुसाउनको लागि यस्ता चलखेल हुने गरेको पाइन्छ । 

आजको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि त्यस्तै भयो । समितिको बैठक आज बिहान ८ बजे संघीय निजामती सेवा विधेयकबारे विज्ञसँग छलफल गर्न बोलाइएको थियो । 

सांसदहरू बस्ने कुर्सीअघि टेबलमा काँटा र चम्चासहित खाजा राखिएको थियो । समितिका यसअघिका बैठकमा यसरी खाजा राख्ने गरिएको थिएन, सामान्यतया चिया खुवाउने गरिन्थ्यो । आजको बैठकमा काँटाचम्चासहित खाजा देखेपछि सांसदहरू छक्क परे ।

खाजाबारे नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सुरुमा प्रश्न उठाए । उनले समितिका सभापति रामहरि खतिवडालाई प्रश्न गरे– ‘आज विशेष ढङ्गले टेबलमा काँटाचम्चा कसरी आयो ? अहिलेसम्म समिति बैठकमा यस्तो थिएन । किन यो नास्ता आयो, अरू बेला एक कप कालो चिया वा दूधचिया हुन्थ्यो । यो गैरसरकारी संस्था (एनजिओ) बाट आएको भए सिधै भन्नुहोस्, त्यो राम्रो हुँदैन ।’

त्यसपछि अरु सांसदहरूले पनि खाजाबारे प्रश्न उठाए । कांग्रेसकै सांसद ईश्वरी न्यौपानेले संसदीय समितिमा एनजिओ प्रवेश गराउनु उचित बताए । उनले प्रश्न गरे– ‘समितिभित्र एनजिओ प्रवेश गराएर हामीले बनाउने ऐन कानुन र विधेयकमा काम गर्न थाले कस्तो परिणाम दिन्छ  ?’

तर, सभापति खतिवडाले प्रस्ट जवाफ दिएनन् । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खाजा र खानाका लागि सहजीकरण गरेको जबाफ दिए । यतिन्जेल केही सांसदहरूले खाजा खाइसकेका थिए ।

तर समितिमा एउटा एनजिओको प्रतिनिधिहरू पनि रहेको र उनीहरूले नै खाजाको प्रायोजन गरेको खुलिहाल्यो । खाजाको लगानीकर्ता खोजेपछि अरनिका राई र राम गुरागाईँले अभियानका तर्फबाट भन्दै परिचय दिए । उनीहरूले नै होटेलमा कार्यक्रम गर्नुभन्दा समितिमै गर्नु उचित ठानेको र खाजालाई अन्यथा नलिन आग्रह गरेको समितिका एक जना सदस्यले बताए ।

उनीहरूलाई विज्ञका रुपमा समितिमा आमन्त्रण गरिएको पाइएको छ । एनजिओबाट खाजा आएको पुष्टि भएपछि बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने रिसाए । उनले प्रश्न गरे– ‘यो खाजा कहाँबाट मगाइयो  ? केका लागि मगाइयो ?’त्यसपछि गृहमन्त्री लामिछाने बैठक हलबाट बाहिरिएपछि समितिको बैठक नै स्थगित भयो । 

सभापति खतिवडाले भने सामान्य प्रशासन मन्त्रालयले खाजाको व्यवस्था गरेको र आफूले अनुमति दिएको समिति बैठकमा बताएका थिए  । सभापति खतिवडाप्रति  मन्त्रीलाई देखाएर उम्कन खोजेपछि उनीहरू थप आक्रोशित भएका थिए  ।

बैठक स्थगित भएपछि संघीय संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति खतिवडाले आइतबार बिहान समिति बैठकमा खाजाको विषयमा कुरा उठेको बताए । त्यसबेला दुई जना एनजिओका कर्मचारी पनि सहभागी रहेको पाइएको उनको भनाइ थियो ।

उनले शिक्षा समितिमा यसअघि नै एनजिओकर्मीको उपस्थिति भएकोमा सामान्य रुपमा लिइएको भन्दै आफूहरूले त्यसलाई सामान्य रुपमा लिन सकिँदैन भनेर  बैठक स्थगित गरिएको बताए ।

प्रतिनिधिसभा अन्तर्गत सिंहदरबार बाहिर विभिन्न सहयोग गर्दै आएको एनएफपीपीडीले राष्ट्रियसभातर्फ भने समितिमै बसेर कार्यक्रम गरेको पाइएको छ ।  राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले एनएफपीपीडीलाई आफ्नो माइन्युटमा समेत धन्यवाद दिएको पाइएको छ ।

यसअघि प्रतिनिधि सभाको अर्थ समितिले प्रि–बजेट छलफल समेत एनजिओको प्रायोजनमा नगरकोटको होटेलमा गएर गरेको थियो । यसरी राज्यको नीति नियम बनाउने थलोमा कुनै एनजिओको आज बाँड्नुले अनेक आशङ्का पैदा गरेको छ  । 

आन्तरिक छलफलमा एनजिओको कर्मचारी छिर्नु शङ्कास्पद रहेको छ । विना स्वार्थ सांसदलाई होटेलमा  बेलाएर छलफल गर्न र बैठकमै खाजा पुर्‍याइदिन कुनै संस्थाले  किन लगानी गर्छ ? भन्ने गम्भीर प्रश्न उठेको छ । आइतबारको खाजा काण्डले पनि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्