Logo
Logo

पुनः एमालेमा विद्या भण्डारी


3k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी पुनः नेकपा एमालेको राजनीतिमा फर्केकी छन् । करिब ७ वर्ष राष्ट्रप्रमुख अर्थात राष्ट्रपति बनेकी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन् । २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी भण्डारीले आफ्नो पूर्ववतः पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरण गरेकी हुन् ।

एमाले स्रोतका अनुसार भण्डारीको गत वैशाख १ गते नै संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेका हुन्। एमालेको सक्रिय राजनीतिमा फर्कनका लागि पार्टीभित्र वातावरण बनाइरहेकी भण्डारी अब औपचारिकरुपमा एमालेको संगठित सदस्य भएकी छन् ।

राष्ट्रपति पदमा जानुअघि भण्डारी एमालेको उपाध्यक्ष थिइन् । भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन एमालेकै केही नेताहरु लागिपरेका थिए । विशषेगरी पार्टी अध्यक्ष केपी ओली शर्मा नै भण्डारीलाई एमालेमा पर्काउन लागिपरेका थिए ।
केही समयअघि अध्यक्ष ओली नै उपस्थित कार्यक्रममा भण्डारीबाट कार्यक्रमको उद्घाटन भएको थियो । जसले पार्टीमा भण्डारीको सक्रियताको प्रष्ट पारेको थियो ।

भण्डारीले सदस्यता नवीकरण गरेपछि एक नेताले भने, ‘उहाँ साधरण सदस्यमै रहन सदस्यता नवीकरण गरेको होइन । पार्टी नेतृत्व गर्ने योजनाका साथ आउनुभएको होला ।’

राष्ट्रपति पदमा रहँदासमेत भण्डारीले पूर्ववतः अवस्थामा आबद्ध रहेको र केपी शर्मा ओलीको चाहनाअनुसार पदीय गरिमा बिर्सेर काम गरेको भन्दै पटक–पटक आलोचनामा परेकी थिइन् ।

०७४ को निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै भण्डारीले ओलीलाई ०७४ फागुन ३ गते सांसद पदको सपथ नै नलिई धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । संविधानविपरीत ओलीले दुईपटक गरेको संसद विघटन सिफारिसलाई भण्डारीले सदर गरेकी थिइन् ।

पूर्वराष्ट्राध्यक्ष पार्टीको सदस्य नबन्ने अन्तराष्ट्रिय परम्परा छ । अर्का, पूर्वराष्ट्रपति रामवरण यादव कांग्रेस पार्टीका औपचारिक कार्यक्रमहरुमा सहभागी हुने गरेपनि पार्टी सदस्यता लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्