- रमेश घिमिरे
स्वतन्त्र पत्रकार
गएको डिसेम्बर महिनामा चीनको उहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)बाट हालसम्म २३ लाख ३२ हजारभन्दा बढी संक्रमित भएका छन् । यस्तै कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ६० हजार नाघिसकेको छ । र, यो क्रम बढ्दो छ ।
विगत एक महिनादेखि नेपाल ‘लकडाउन’ छ । राजमार्गमा आफ्नो थाँतथलोमा पुग्नका लागि श्रमिकवर्ग पैदल हिडिरहेको हृदयविदारक दृश्य देखिन थालेको छ । खाडी मुलुकमा रहेका लाखौँ नेपालीलाई त्यहाँका सरकारहरुले स्वदेश फर्कँन दवाब दिइरहेका छन् । अमेरिका, युरोप, अष्ट्रेलिया तथा अन्य देशहरुले आ–आफ्ना नागरिकहरुलाई नेपालबाट उद्दार गरी आफ्नो मुलुक लगिसकेका छन् ।
यस्तो अवस्थामा के प्रश्न उठ्छ भने नेपाली जनताले दुई तिहाई मतले जिताएको नेकपाको सरकारले यस मानवीय त्रासदीमा आफ्ना जनताका लागि के गर्दैछ ? जनताले सरकार खोज्ने भनेको यस्तै आपत–विपतमै हो । तर, सरकार त यस विपत्तमा पनि कमिशन खान र आफ्ना कार्यकर्ताहरुलाई जागीर ख्वाउनमा व्यस्त छ ।
जबसम्म कोरोनाको खोप वैज्ञानिकहरुले बनाउन सफलता प्राप्त गर्दैनन्, तबसम्म कोरोनाविरुद्ध लडाइँ जारी रहनेछ । वैज्ञानिकहरुका अनुसार कोरोना विरुद्धको खोप बनाउन एक वर्षदेखि डेढ वर्षसम्म लाग्नेछ । यसबाट के स्पष्ट हुन्छ भने कोरोना विरुद्धको लडाइँ लामो समयसम्म चल्नेछ ।
‘लकडाउन’मात्र समस्याको समाधान होइन । व्यापकरुपमा विश्वासनीय परीक्षण गर्नु पर्दछ । अहिले भइरहेको परीक्षणको विश्वासनीयिताबारे प्रश्न उठिरहेको छ । यस अवधिमा नागरिकले बाँच्नका लागि चाहिने आधारभूत वस्तु कसरी प्राप्त गर्ने ?
सरकार कहिँ–कतै छ भने त्यसको विश्वासनीय जोहो गरिदिनु प¥यो, मात्र प्रचार होइन । छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । नेपाल–भारत सीमा पूर्णतः सिल गर्नका लागि सुरक्षा फौज कम भयो भन्ने कुरा आएको छ । यस्तो बेलामा नेपाली जनताको अगाडि आफ्नो झुठो शान देखाउँन नेता, पदाधिकारीहरुले लिएको अनावश्यक सुरक्षा अधिकृतहरुलाई फिर्ता गरी सीमामा खटाउनु पर्दछ ।
यो महामारीले सरकारलाई, सरकार भनेको नेपाली जनताको सुख, दुःखको साथी हो भन्ने अवसर दिएको छ । हेरौँ, सरकारले यस अवसरको सदुपयोग गर्छ या दुरुपयोग ।
twitter @rmshghimire
प्रकाशित मिति : आइतबार, ७ बैशाख २०७७