काठमाडौं । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको बिकल्प खोजी सुरु भएको छ । मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री बनेपछि ढकाल विभागको महानिर्देशक भएका थिए । उपेन्द्र यादव मन्त्री भएपछि महानिर्देशक परिवर्तनको खेल सुरु भएको थियो । यादव अमेरिका भ्रमणबाट फर्केलगत्तै ढकाललाई सरुवा गर्ने गुप्त योजना बनाइएको थियो । तर यादवको मन्त्रीपद अमेरिकामा हुँदै धरापमा परेपछि ढकालको पदावधि लम्बिन पुगेको हो ।
स्वास्थ्यमन्त्रीमा प्रदीप यादव आएपछि ढकाललाई सरुवा गर्ने वातावरण बनाउन लागिएको छ । लोकसेवा आयोगको तयारी पुस्तिकामा उल्लेख गर्नमात्रै उल्लेख गर्नमात्रै बाँकी राखिएको औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकालको बिकल्पमा भरत भट्टराई हुन् । उनीहरु दुईमध्ये एक अझै १ दशकसम्म आलोपालो गरी विभागको महानिर्देशक हुनेछन् । अर्को उम्मेदवार छैन ।
११औं तहका भरत र नारायण समान भए पनि उनीहरुबीच एकअर्कामा चरम दुश्मनी छ । त्यही दुश्मनी कर्मचारीमा पनि सर्दै गएको छ । भरतका अगाडि नारायणको बखान गर्नु र नारायणका सामु भरतको सकारात्मक कुरा गर्नु भनेको त्यो ठूलो अपराधका रुपमा दर्ज हुन्छ ।
सरुवा भएको लामो समयपछि राष्ट्रिय प्रयोगशालामा हाजिर हुन बाध्य भएका भरतलाई राजनीतिक अस्थिरताका कारण फलिफाप हुने संकेत देखिएको छ । तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुरले सरुवा भएको ठाउँमा हाजिर नगरे बिभागीय कारबाहीसम्म गर्ने चेतावनी दिएपछि उनी लुसुक्क प्रयोगशालामा हाजिर भएका थिए ।
मोहनबहादुरको बहिर्गमनपछि भरतले महानिर्देशकको लागि पहल अगाडि बढाएका छन् । उपेन्द्रका पालामा झन्डै महानिर्देशक बनेका भटटराई प्रदीपको कार्यकालमा भएरै छाड्ने गरी लागेका छन् ।
ढकाल पनि के कम ? स्वास्थ्यमन्त्री प्रदीपलाई खुसी पारेर टिक्न जुनसुकै हत्कण्डा पनि उपयोग गरिरहेका छन् । स्वास्थ्यको प्रशासन हेर्ने सचिवका रुपमा हरि मैनाली आएपछि ढकालमा झिनो आशा पलाएको छ । यसअघिका सचिव मधुसुदन बुर्लाकोटी ढकालका क्रियाकलापसँग सन्तुष्ट थिएनन् ।
मैनाली आएपछि मन्त्री प्रदीपलाई सन्तुष्ट बनाउन सके टिक्ने आशामा ढकाल छन् । विदेशी औषधि कम्पनीको दर्ता र नवीकरणका लागि उद्योग भ्रमण गर्नुपर्ने र त्यसका लागि राज्यस्तरबाटै करोडौं बजेट छुट्याइएको हुनाले त्यसतर्फ अहिले ढकालको दृष्टि सोझिएको छ ।
विदेशी औषधि कम्पनीको निरीक्षणमा जानका लागि मन्त्रालयदेखि विभागसम्मका कर्मचारीहरुको हानथाप हुने गरेको छ । सरकारी पैसा पाउने, बिदेश घुमिने र औषधि उद्योगीबाट पनि छुट्टै खाम पाउने भएपछि कर्मचारीहरुबीच निरीक्षणमा जान चर्को हानथाप हुने गरेको छ ।