काठमाडौं । एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विस्तारै पहुच विस्तार गर्न थालेकी छिन् । आठ वर्षदेखि संगठित सदस्यता नविकरण नगरेकी भण्डारीले यसपटक सदस्यता नविकरण गरेर पहँुच विस्तार गरेकी हुन् ।
एमाले उच्च स्रोतका अनुसार उनले केही दिनअघि एमालेको संगठित सदस्य नविकरण गरेकी हुन् । एमाले नेताहरूले यो विषयलाई बाहिर ल्याउन चाहेका छैनन । उनले निवेदन दिएर नविकरण गरेको भन्दा पनि अघिल्लो पटक साधारण सदस्यबाट राजीनामा नदिएको र पुरानो मितिबाट सदस्यता अद्यावधिक भएको एमाले स्रोतले बताएको छ ।
२०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी भण्डारीले आफ्नो पूर्ववत पार्टीमा सक्रिय हुन पार्टी सदस्यता नवीकरण गरेको हुन सक्ने आँकलन गरिएको छ ।
एमाले नेताहरूका अनुसार भण्डारीले गत वैशाखमा पार्टी सदस्यता नविकरण गरेकी हुन् । एमालेको सक्रिय राजनीतिमा फर्कनका लागि पार्टीभित्र वातावरण बनाइरहेकी भण्डारी अब औपचारिक रुपमा एमालेको संगठित सदस्य भएकी छिन् । सात वर्ष राष्ट्रपति पदमा जानुअघि उनी एमालेको उपाध्यक्ष थिइन् ।
गत जेठ १६ गते एमालेले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटन भण्डारीले गरेकी थिइन् । दुई दिन चलेको भेलाको उद्घाटन गर्दा अध्यक्ष केपी ओली अतिथिका रुपमा मात्रै सीमित भए । पार्टी अध्यक्ष नै उपस्थित कार्यक्रममा भण्डारीबाट कार्यक्रमको उद्घाटन भएर ओली ताली बजाउन मात्रै सीमित भएको घटनाले एमालेमा उनको सक्रियताको प्रष्ट संकेत गरेको थियो ।
भण्डारी सक्रिय राजनीतिमा फर्किँदा विघठित नेकपा फर्काउने बृहत् रोडप्याप अघि सारिएको छ । नेकपा एकीकृत समाजवादीलाई समेत एकीकरण गराउने उदेश्य राखिएको स्रोतको दाबी छ ।
राष्ट्रपति पदमा रहँदासमेत उनले आफू पूर्ववत अवस्थामा आबद्ध रहेको एमाले र त्यसका अध्यक्ष ओलीको चाहनाअनुसार पदीय गरिमा बिर्सेर काम गरेको भन्दै पटक–पटक आलोचनामा परेकी थिइन् ।
०७४ को निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै भण्डारीले ओलीलाई ०७४ फागुन ३ गते सांसद पदको सपथ नै नलिई धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।
संविधान अनुसार प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य हुनु अनिवार्य छ । तर, त्यसविपरीत सांसदका रुपमा ओलीले शपथ ग्रहण नै नगरी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरिन् । संविधानविपरीत ओलीले दुई पटक गरेको संसद विघटन सिफारिसलाई भण्डारीले सदर गरेकी थिइन् ।
गत वैशाख १० गते एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको थियो । कम्युनिस्ट पार्टी स्थापना भएको ७५औं वर्ष पूरा भएको अवसरमा गोदावरीमा आयोजित विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको थियो ।
भण्डारीलाई सम्मान गरेर पार्टी भन्दामाथि रहेको सन्देश दिएर सक्रिय राजनीतिमा आउन बन्द गरिएको बताइए पनि भण्डारीले यो विषयमा मुख खोलेकी छैनिन् । उनी एमालेमा दुई कार्यकाल उपाध्यक्ष र लामो समय अखिल नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी रहेकी थिइन् ।
०७९ फागुन २९ गते राष्ट्रपतिको दुई कार्यकाल पूरा गरी बिदा भएपछि उनी एमालेका सार्वजनिक मञ्चमा खासै देखिएकी थिइन् । उनी बुढानिलकण्ठ भंगालमा आफ्नै घरमा बस्दै आएकी छिन् । उनी एमालेको अध्यक्ष बन्ने गरी राजनीतिमा आउन चाहेको संकेत स्पष्ट रुपमा त दिएकी छैनन् । तर, उनी निकटस्थहरूका अनुसार पार्टीको आगामी महाधिवेशनसम्ममा उनी सर्वसम्मत् हुने अवस्था बनाउने कसरत सुरु भएको छ ।