Logo
Logo

अपडेट : संसारभरी २३ लाख ४५ हजारभन्दा बढी संक्रमित, अमेरिकामा मात्रै ३९ हजार बढीको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

जेनेभा, ७ वैशाख (एजेन्सी) । कोरोना भाइरसको महामारीबाट संयुक्तराज्य अमेरिकामा मात्र मृत्यु हुने व्यक्तिको संख्या ३९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार आइतबार मध्यान्हसम्ममा अमेरिकामा ३९ हजार १५ जनाको मृत्यु भएको छ भने ७ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन् ।
अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिएपनि संक्रमितको संख्यामा कमी आएको छैन । देशका कतिपय राज्य र शहरमा मानिसहरु लकडाउन हटाउन माग गर्दै प्रदर्शनमा समेत उत्रिएका छन् ।
मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिकाहरु राज्यका गभर्नरलाई सुझाएका छन् । तर, पनि लकडाउन खोल्नेबारे स्पष्ट भइसकेको छैन ।
अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क शहरमा नर्सिङ होममा आश्रित ज्येष्ठ नागरिकको ठूलो संख्यामा मृत्यु भएको छ । क्लालिफोर्निया शहरमा राज्य सरकारले कोरोना संक्रमित तर हाल घरबारबिहीन व्यक्तिका लागि १५ हजार होटल कक्षहरुको व्यवस्था गरिएको गभर्नर ग्याभिव न्यूसमले बताएक छन् ।
इन्डियानापोलिसमा गभर्नर एरिक होल्कोम्बको सरकारी आवास बाहिर २०० भन्दा बढी व्यक्ति भेला भएर लकडाउन खोल्न माग गर्दै प्रदर्शन गरेका छन् । यस्तै टेक्सास राज्यको अस्टिनमा पनि घरभित्र बस्न दिइएको आदेशको विरोधमा प्रदर्शनहरु भएका छन् ।
अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेनजस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् ।
कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरणअनुसार इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ भने तेस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ६३९ जना रहेको छ ।
आइतबार मध्यान्हसम्ममा संसारभरी १ लाख ६१ हजार १९१ जनाको मृत्यु भएको छ । वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म कोभिड–१९ बाट २३ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । दिनै संक्रमितहरु बढिरहेका छन् । आइतबारसम्ममा ६ लाख ४ हजारभन्दा उपचारपछि घर र्फिर्कएका छन् ।

प्रतिक्रिया दिनुहोस्