काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रतिनिधिसभा बैठकको रोष्ट्रमममै बजेट पुस्तिका च्यातेका हुन् ।
‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु,’ उनले भने, ‘तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हु¥याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ (पोडियम) राख्छु मैले ।’
अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि उक्त मन्त्रालयको बजेटमा आक्रोश आफूमा मात्रै नरहेको बताए । उनले भने, ‘यो मेरो मात्रै मनको कुरा होइन । अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि चार वटा निर्वाचन क्षेत्रदेखि बाहेकको सबै प्रतिनिधि सभा सदस्यहरुको मनको कुरा हो ।’
सामान्य लाज पनि नराखेर राज्य स्रोतमाथि मनपरी गरेको लिङ्देनले बताए । यो कति दिन सहेर बस्ने हो भन्ने प्रश्न गर्दै उनले जिल्लाको नाम धेरै राखेको भनेर टिप्पणी हुन्छ भनेर ठेगाना समेत नलेखेर योजनामा बजेट राखिएको भन्दै आक्रोश पोखे ।
मन्त्रीको गोजीबाट निस्कने चिर्कटोबाट योजना पर्ने प्रवृत्तिले वर्तमान व्यवस्था माथि नै संकट पैदा गर्दै लगेको उनले बताए । ‘यो व्यवस्था, यो राज्य प्रणाली काम लाग्दैन भनेर हामीले भनिराखेका छौं । यसलाई पुष्टि गर्नुभएको छ । यसलाई चाँडो भत्काउन आफैं सहयोगी बनुभएको छ’, लिङ्देनले भने ।