Logo
Logo

राजश्वका हाकिमलाई क्यासिनोको लकर


756
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले गत शुक्रबार दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारे पनि त्यसको हिसाब भने बाहिर ल्याएको छैन ।

छापामार्दाको बखत एक करोड ५ लाख बरामद गरेको जनाएपनि लकर र बाहिर गेमिङ टेबुलमा छरिएको पैसाबारे विभाग मौन रहेको छ । त्यहाँको व्यवस्थापन पक्षले क्यासिनो र केही व्यापारिक निकायहरूमाथि विशेष निगरानी बढाएको भनिएपनि कारबाही अघि बढ्न सकेको छैन ।

विभागको टोलीले गत हप्ता नै छापा मारेर क्यासिनोबाट १ करोड ५ लाख बरामद गरेको जनाएको थियो । तर, गेमिङ टेबुलमा रहेको पैसाबारे राजश्वका कर्मचारी मौन रहेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए । स्रोतका अनुसार ‘त्यहाँ एक करोड मात्र होइन करिब तीन करोडजति पैसा थियो, लकरमा राख्ने बेलामा मात्रै उठाउने गरिएको र केही ग्राहकको समेत थियो,त्यसलाई बाहिर सार्वजनिक गरिएको छैन ।’

विभागका महानिर्देशक चक्रबहादुर बुढाले भने क्यासिनो प्यालेसले ठूलो परिमाणको नेपाली मुद्राको कारोबार गर्ने गरेको र राजस्व छली गर्ने गरेको सूचनाका आधारमा छापा मारिएको बताएका छन् । ‘क्यासिनोले सो पैसा बैंकमा राख्नुपर्नेमा किन त्यहाँ राख्यो भन्ने प्रश्न छ, साथै उसले विदेशी मुद्राको कारोबार गर्दा राष्ट्रबैंकको अनुमतिसमेत नलिएको पाइएको छ’ महानिर्देशक बुढाले भने ।

विभागको अनुसन्धान टोलीले शुक्रबार छापा मार्ने क्रममा सो क्यासिनोका सञ्चालक तथा आधिकारिक व्यक्तिको खोजी गरेको थियो तर कसैलाई पनि फेला नपारेपछि सेफ र लकरलाई नियन्त्रणमा लिइएको थियो ।

गैरकानुनी रूपमा कारोबार गरी राजस्व छली गर्ने र विदेशी मुद्राको अवैध कारोबार गर्ने अन्य क्यासिनोलगायतका व्यापारिक निकायहरूको बारेमा पनि राजश्वले खोजी गरिरहेको भनेर अन्य क्यासिनोलाई पनि तर्साउन थालेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्