यतिबेला नेकपा (एकीकृत समाजवादी) आफ्नो १०औँ राष्ट्रिय महाधिवेशनमा व्यस्त छ । खासगरी एकीकृत समाजवादीमा नेतृत्वको विषयलाई लिएर चर्को बहस भइरहेको छ । एकीकृत समाजवादीको भावी नेतृत्व, उसले अघि सारेको समाजवादी कार्यक्रमलगायतका विषयसँग जोडिएका केही महत्त्वपूर्ण सन्दर्भका बारेमा बहस हुन आवश्यक छ ।
एकीकृत समाजवादी पार्टी आफूलाई कम्युनिष्ट आन्दोलनको मूल प्रवाह ठान्छ । कम्युनिष्ट पार्टीको लिगेसीका हिसाबले यो पार्टीले विचारधारात्मक काममा आफूलाई एक कदम अगाडि उभ्याइरहेको पनि छ । मध्य असारको १६ देखि २० गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा जुटेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल केन्द्रभागमा छन् ।
२०३० सालमा ‘कोके’ खोलेका नेपाल आज पनि पार्टीको मुख्य जिम्मेवारीमा छन् । यसबीचमा नेता नेपालको राजनीतिक जीवनले निक्कै उकाली ओराली पार गर्याे । तर, आफ्नो निष्ठा, त्याग र सामूहिक भावनाको मान्यताबाट नेता नेपाल कहिल्यै विचलित भएनन् ।
पछिल्लो राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री पद अस्वीकार गर्नेदेखि विगत २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी पराजित हुँदा महासचिव पदबाट राजीनामा दिनेसम्मको नैतिकता देखाएका नेता नेपाल पनि अध्यक्षको चर्चामा छन् ।
राजनीतिमा पदमात्र होइन, त्यागको पनि ठूलो महत्त्व छ । हरेक पार्टीमा युवा पुस्ताको बहस हुन थालेको धेरै वर्ष भयो । त्यसैले पुरानो पुस्ताका नेताहरूले त्याग देखाउनुपर्ने बेला आएको छ ।
राजनीतिमा उत्तराधिकारी निक्कै महत्त्वपूर्ण विषय हो । राजनीति विज्ञानले भन्छ, ‘जसले समयमै उत्तराधिकारी जन्माउँछ, त्यो नै सफल र असल नेतृत्व हो ।’ नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा उत्तराधिकारी तोकेको विरलै इतिहास छ । नेतृत्व खोसेरै लिनुपर्छ ।
चुनावमा भिडेरै जानुपर्छ । मोहन वैद्यले प्रचण्डलाई ३५ वर्षको उमेरमा नेतृत्व प्रधान गरेका थिए । तर, पछि आएर वैद्यले पार्टी फुटाएर आफैँ अध्यक्ष बने र अहिलेसम्म पनि आफैँ अध्यक्ष बनिरहेका छन् । जसको महत्त्व छैन ।
हामी सामान्य समर्थक र समाजवादी विचारधारामा रुचि राख्ने मान्छे भएका कारण नेता नेपालले जसरी आफ्नो नेतृत्वमा नेपाली राजनीतिक इतिहासमा ऐतिहासिक दस्ताबेजका रूपमा समाजवादी कार्यक्रम तयार पारेका छन्, यो चानचुने कुरा होइन ।
पार्टीभित्र र बाहिर वैचारिक नेताका रूपमा परिचित घनश्याम भुसाललाई माधव नेपालले अबको नेतृत्वको रूपमा अघि सारे भने अन्य कम्युनिष्ट पार्टीमा रहेका अधिकांश नेता कार्यकर्ताको आकर्षण र आशाले एकीकृत समाजवादीमा नयाँ उत्साह, जोस र जाँगर आउने छ ।
इतिहासमा विचारधाराको क्षेत्रमा एकीकृत समाजवादीले अघि सारेको समाजवादी कार्यक्रमका बारेमा छलफल, बहस होला नै । अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाल र आजका दिनसम्म कुनै विवादमा नमुछिएका, वैचारिक रूपमा बलिया र महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजका एक लेखक घनश्याम भुसाल पनि अध्यक्षका दाबेदार छन् । नेपाल र खनालको सामूहिक नीतिलाई कार्यान्वयन गर्ने काममा भुसाल इमानदार भएर लाग्छन् भन्ने विश्वास गर्न सकिन्छ ।
पार्टीभित्र र बाहिर वैचारिक नेताका रूपमा परिचित भुसाललाई नेपालले अबको नेतृत्वको रूपमा अघि सारे भने, अन्य कम्युनिष्ट पार्टीमा रहेका अधिकांश नेता कार्यकर्ताको आकर्षण र आशाले एकीकृत समाजवादीमा नयाँ उत्साह, जोस र जाँगर आउने छ ।
भुसाल नेपाली कम्युनिष्ट आन्दोलनका निर्भीक र बौद्धिक नेता हुन् । अघिल्लो पुस्ताको ४ दशकसम्मको प्रयासलाई स—धन्यवाद दिँदै भुसाल स्वयं पनि अबको पार्टी महाधिवेशनमा अध्यक्षको निम्ति दाबी गर्नु स्वाभाविकै हो । उमेरकै हिसाबले कुरा गर्ने हो भने भुसालभन्दा कम उमेरमै खनाल र नेपाल महासचिव बनिसकेका नेता हुन् ।
आसन्न महाधिवेशनको चर्चा भइरहँदा मिडियामा विभिन्न नेताहरूको चर्चा भइरहेको छ । जुन स्वाभाविक पनि हो । एउटा गतिशील पार्टीको नेतृत्वको विषयलाई लिएर पार्टीभित्र र बाहिर यत्तिको बहस हुनुलाई अन्यथा मान्नुपर्ने कुनै कारण छैन । तर, पुराना नेता र नेतृत्वप्रतिको घट्दो जनआकर्षणमाथि ठोस विश्लेषण हुनै पर्छ ।
पदको लागि मरिहत्ते गर्ने, पदलोभी, लोभीपापीजस्ता तल्लो स्तरका प्रतिक्रियाहरू किन सुनिँदैछन् ? यसका बारेमा पनि सोच्नुपर्छ । अध्यक्ष नेपाल र सम्मानित नेता खनालले आफूलाई यो उमेर र अवस्थामा आएर फेरि पनि नेतृत्वका लागि दाबी गर्नुभनेको समयसापेक्ष कुरा होइन भन्ने मनन गर्नुपर्छ ।
चार दशकअघि नेतृत्व सम्हालिसकेका नेपाल र खनालदले आजको वर्तमान अवस्थालाई विश्लेषण गरेर सहज र सरल ढंगले नेतृत्व हस्तान्तरण गर्छन् भन्ने लाग्छ ।
नेपालले राजनीतिक इतिहासमा जुन त्याग, निष्ठा र उदारता देखाएका छन्, जति काम गरेका छन् ती सबै मुलुक र भावी पुस्ताकै निम्ति नै हो । यस हिसाबले राजनेताका असली हकदार नेपाल हुन् । उनको जीवनमा अर्को एउटा महत्त्वपूर्ण मोड आएको छ । जुन मोडमा उभिएर उत्तराधिकारीलाई एकीकृत समाजवादी पार्टी नामको गाडीको स्टरिङ हस्तान्तरण गर्नु छ । जो भावी पुस्ताको निम्ति हुनेछ ।
अर्को कुरा, माथि भनिएझैँ एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो भने पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी र माधव नेपालका असली उत्तराधिकारी भुसाल नै हुन् । राजनीतिक, नैतिक, सैद्धान्तिक, वैचारिक र सांगठनिक रूपमा यति बलशाली नेता अर्को कुनै पार्टीमा छैनन् ।