काठमाडौं, ८ बैशाख
सरकारी खर्च जोगाउन राष्ट्रपतिको कार्यालयले गाडी खरिद तथा भवन निर्माण लगायतका प्रक्रिया रद्द गरेको छ । कोरोना भाइरसबाट देशमा संकटको परिस्थिती सिर्जना भएको भन्दै राष्ट्रपति कार्यालयले त्यसका लागि विनियोजन भएको नौ करोड ५० लाख रुपैयाँ सरकारको संचित कोषमा जम्मा गरेको छ ।
खरिद तथा निर्माणसम्बन्धि कामहरु रोकर खर्च जोगाइएको हो । राष्ट्रपति कार्यालयले पुराना गाडी हटाएर पाँच वटा बिद्युतीय गाडी खरिद प्रक्रिया अघि बढाएको थियो । त्यसका लागि करिब साढे चार करोड रुपैयाँ छुट्याइएको थियो । गाडी खरिदको प्रक्रिया रद्द गरिएको छ ।
त्यस्तै, नयाँ हलका लागि छुट्टै भवन पनि बनाउन पनि बजेट विनियोजन भएको थियो । कम्प्युटर, फर्निचर लगायत सामान खरिद पनि रद्द गरिएको राष्ट्रपति राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । । त्यस्तै, विज्ञ सल्लाहकार समेत नियुक्तिको लागि बजेट आएकोमा सो प्रक्रिया रोकेर बजेट संचित कोषमा पठाइएको छ ।
यो आर्थिक वर्षका लागि आएको ९ करोड ५० लाख संघीय सरकारको संघीय संचित कोषमा जम्मा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बताए । राष्ट्रपति कार्यालयको यो कामको धेरैले प्रशंसा गरेका छन् ।
अर्थ मन्त्रालयले पनि गाडी, फर्निचर खरिद लगायतको काम बजेट खर्च नगर्न अन्य सरकारी कार्यालयलाई परिपत्र गरेको छ ।