Logo
Logo

कांग्रेस सांसदको बदमासीले धाप्लाङघाट पुल अलपत्र, अरु जनप्रतिनिधि ‘तैं चुप मै चुप’


3.6k
Shares

खोटाङ । वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका-२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो ।

पाँच वर्षअघि नै बनिसक्नुपर्ने पुल अहिलेसम्म १० प्रतिशत मात्रै काम भएको छ । रसुवा एसएनएस पप्पु जेभीले विसं २०७६ असार–२० गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते दुई सय मिटर लम्बाइको पक्की पुल निर्माणको सम्झौता गरेको थियो ।

निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए ।

पाँच वर्षअघि नै निमार्ण सम्पन्न हुनुपर्ने उक्त पुलमा गत फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ । त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको पानीले कटान गर्दा खम्बा बाङ्गिएको हो । खम्बाको माथिल्लो भाग फाट्दै गएको र नदीतिर ढल्किँदै गएको छ । तर सडक विभाग पुल सेक्टर धरान, सुनसरीका योजना प्रमुख इन्जिनियर दारोगा प्रसादले भने पुलको खम्बा बाङ्गिएको विषयमा जानकारी नभएको जवाफ दिए ।

सु?मा यहाँ ‘वेल’ फाउन्डेसन प्रविधिको पुल बनाउने ठेक्का खुलाइएको थियो । शिलान्यास गरेको ७ वर्षपछि गत वर्ष ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो । खोटाङ र उदयपुरतर्फ वर्षौंअघि सडक बनिसकेको भए पनि धाप्लाङघाटमा पक्की पुल निर्माण नहुँदा झोलुङ्गे पुलको प्रयोग हुँदै आएको छ ।

ठेकेदारको लापरबाहीले अहिले निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएको छ । पुलको खम्बा बाङ्गिएपछि गुणस्तरमासमेत प्रश्न उठेको छ । पुल निर्माण कम्पनि रसुवा एसएनएस पप्पु जेभीका अध्यक्ष तथा संचालक नेपाली कांग्रेसका नेता तथा सांसद मोहन आचार्य हुन् ।

आचार्य रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट २०७४ र २०७० को निर्वाचन गरी दुई पटक सांसद बनिसकेका छन् । तर उनले संचालन गर्दै आएको निर्माण कम्पनि रसुवा एसएनएस पप्पु जेभीले बनाउँदै गरेको उक्त पक्कि पुलको खम्बा नै बांगिएपछि जनप्रतिनिधि नै जनताको विकासको पासो बनेको उधाहरण हो ।

मोहन आचार्य पनि प्रतक्ष निर्वाचित सांसद हुन् । जनताबाटै निर्वाचित सांसद आचार्यले गुणस्तरहीन पुल निर्माण गरेर राष्ट्रको ढिकुटीबाट आएको बजेट दोहन गरेर जनतामाथि ढाड सेकाउन खोजेको छर्लंग देखिन्छ । धाप्लाङ्गघाट पक्कि पुल उधारहण मात्र हो। आचार्यले यो भन्दा अन्य धेरै पक्कि पुलहरु अलपत्र पारेका छन् ।

निरिह जनप्रतिनिधि
गत निर्वाचनमा खोटाङ्बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट रामकुमार राई पासाङले निर्वाचन जितेका छन् । सत्ता गठवन्धनको साहारामा निर्वाचन जितेका पासाङ चुनावपछि गुमनाम छन् । न कुनै जिल्लाको योजनाका लागि पहल गरेका छन् । न त योजना नै पार्न सकेका छन् । प्रतिनिधिसभाको बैठकमा समेत जनताको समस्या उठाउन सकेका छैनन् ।

उनले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीलगायतको सहयोगमा सहजै निर्वाचन जितेका थिए । त्यसपछि यता उनी गुमनाम भएका छन् । धाप्लाङ्घाट पुलबारे पनि उनी बेखर छन् । त्यसैले आजसम्म उनले कुनै पहल गरेका छैनन् । उनले यो पुलको लागि मात्र होइन अन्य कुनै योजनाको लागि पहल गरेका छैनन् ।

खोटाङ ‘क’बाट प्रदेश्सभामा निर्वाचित बनेका अर्का सांसद हुन् पाँचकर्ण ‘पिके’ राई । उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए । राई पनि पासाङ जस्तै गुमनाम छन् । उनले पनि आफ्नो निर्वाचन क्षेत्रमा कुनै विकासका योजनाह? पार्न सकेका छैनन् । न कुनै पहल गरेका छन् ।

उनी दुई पटक कोशी प्रदेशका मन्त्री बनिसकेका छन् । अहिले पनि सामाजिक विकास मन्त्री छन् । यसअघि उनी पर्यटनमन्त्री बनेका थिए । तर, उनले जिल्लाको लागि कुनै विकासका काम भने गर्न सकेका छैनन् ।

त्यस्तै, प्रदेश ‘ख’बाट नेपाली कांग्रेसका भुपेन्द्र राई निर्वाचित भएका थिए । राई पछिल्लो समय भने जनताको जनगुनासो सुन्ने प्रतिनिधिको रुपमा चिनिन्छ । उनले जिल्लाको लागि विभिन्न योजनाहरु पनि लिएर गएका छन् ।

उनकै पहलमा धाप्लांङघाट पक्कि पुल निर्माण सुरु भएको थियो । तर निर्माण कम्पनीले गुणस्तरहीन काम गरेपछि राई पनि विवादमा तानिएका छन् । किन कि राई पनि नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री हुन् । राईमाथि आफ्नो पार्टी निकट निर्माण कम्पनीलाई पक्कि पुल निर्माणको ठेक्का दिएको आरोप छ ।

खोटाङबाट २०७० र २०७४ गरी दुई पटक प्रतिनिधिसभा सदस्य बनेका नेकपा एमालेका नेता विशाल भट्टराईले पुलको खम्बा बांगीनुमा निर्माण कम्पनिको ठुलो त्रुटी रहेको बताएका छन् । दृष्टि न्युजसँग कुरा गर्दै उनले डा. नारायण खड्का र भुपेन्द्र राई मिलेर पुलको निर्माणको ठेक्का मोहन आचार्यलाई दिएको आरोप लगाएका छन् ।

बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जारा भने आफ्नै दुनीयामा छन् । उनले आफ्नै पालिकामा सिङ्को समेत भाचेका छैनन् । विकासको नाममा एउटा कुनै देखिने काम गर्न सकेका छैनन् । पालिकाको नियम उल्लङ्घन गर्दै उनले आफ्ना कार्यकर्ताहरुलाई विद्यालय, स्वास्थ्यचौकी र पालिकाकै विभिन्न शाखाहरुमा नियुक्ति दिएर बजेटको चरम दुरुपयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्