काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको दावी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएदेखि नै हो । तर तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ ।”
इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन उनले पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।