एजेन्सी । गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित प्यालेस्टिनी शिविरमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको जनाएको छ ।
यसबाहेक राफाहको उत्तरपश्चिममा रहेको अल–शकौस क्षेत्रमा इजरायली गोलाबारीमा धेरै मानिस मारिएको र घाइते भएको प्यालेस्टिनी नागरिक सुरक्षा एजेन्सीले बताएको छ । इजरायली सेनाले गाजा सहर नगरपालिकाको ग्यारेज र सहरको पाँच तले भवनमा बम प्रहार गरेको अल जजिराले जनाएको छ ।
यसअघि गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली सेनाले कम्तीमा ३५ प्यालेस्टिनीको हत्या गरेको र इजरायल र हमासबीच जारी युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार ४३१ पुगेको जनाएको थियो ।
यसैबीच, यस क्षेत्रमा इजरायली नाकाबंदी जारी रहँदा मानवीय अवस्था बिग्रँदै गइरहेको छ । फ्रान्सेली मेडिकल राहत समूह (एमएसएफ)ले शुक्रबार स्वास्थ्य सेवा सामग्री आपूर्ति अभावका कारण गाजामा स्वास्थ्य सेवा सञ्चालन स्थगित गर्नुपर्ने हुनसक्ने बताएको छ ।
“एमएसएफले अप्रिलको अन्त्यदेखि गाजामा कुनै पनि चिकित्सा आपूर्ति ल्याउन सम्भव नभएकाले भ आवश्यक औषधि र उपकरणको गम्भीर अभावको सामना गरिरहेको छ“, राहत समूहले एक विज्ञप्तिमा भन्यो ।
अन्तर्राष्ट्रिय चेतावनीका बावजुद इजरायलले मे महिनामा रफाहमा हमासविरुद्ध प्रतिआक्रमण सुरु गरेको थियो ।