Logo
Logo

सम्बन्धको दोबाटोः अग्र्यानिक कथा


4.6k
Shares

‘मलाई लाग्छ, कथा साहित्य अनुभूतिहरूको लिपिबद्ध अभिव्यक्ति मात्र होइन, न त यो तर्क, दर्शन, बुद्धि विलास र लेखकीय एवं पाठकीय सुखानुभूतिको माध्यम मात्र हो । मेरो विचारमा कथा– साहित्य सामकालीन समाजको ऐना पनि हो, जसमा मानवीय सम्बन्ध, संवेदना र यसका प्रवृत्तिहरू प्रतिविम्बसित हुनुपर्छ र भोलिको समाजको मोटामोटी स्वरूप पनि यसैमा देखिनु पर्छ । साथै, यसको प्राथमिकता मानव जीवनलाई समुन्नत बनाउनेतर्फ निर्देशित हुनुपर्छ ।

त्यसले मैले मेरा सबै कथाहरूलाई आफ्नो यही मान्यताको जगमा उभ्याउने यथाशक्य प्रयास गरेको छु । कथा लेखनसँगै यस्तै सुन्दर विचारहरूलाई हृदयमा राखेर कथा लेख्ने कथाकार रवीन्द्र केसीको नवीनतम कृति सम्बन्धको दोबाटो प्रकाशन भएको छ ।

नेपाली साहित्यमा वर्तमान समय निकै उर्वर देखिएको छ । धेरैभन्दा धेरै सर्जकहरूका पुस्तक प्रकाशन भइरहेका छन् । वर्तमानमा कथा विधामा निकै उर्वरता देखिएको छ । र, अर्को कुरा नेपाली साहित्य जटिल नभएर समाजको एक हिस्साको रुपमा विकसित हुँदै छ ।

हामीले भोगेको समाजसँग भविष्य परिचित बनाउनु पर्छ भन्ने चेतना सर्जकहरूले प्रस्तुत गरेका छन् । साहित्यकारहरू पनि यही समाजका पहरेदारको रुपमा आफैलाई परिचित गराई रहेका छन् ।

रवीन्द्र केसीको नवीनतम कथासङ्ग्रह सम्बन्धको दोबाटो पढेपछि यो स्पष्ट हुन्छ । एउटा सर्जकको समाजप्रतिको आफ्नो दायित्वबोधको बारेमा पनि सम्बन्धको दोबाटोका कथाहरूले बोध गराउँछ ।

अर्को कुरा कथा लेखनको विशिष्ट धारको रुपमा पनि यस सङ्ग्रहका कथाहरूले स्पष्ट संकेत गरेका छन् । स्वरै कल्पना भन्दा यथार्थ धारमा लेखिएका कथाहरूको महत्वका बारेमा पनि यी कथाहरूले राम्ररी संकेत गरेका छन् ।

नेपाली साहित्यमा कथा पुरानो विधाको रुपमा रहेको छ । नेपाली कथाका लेखन प्रवृत्ति तथा इतिहास पढ्दा ती कुराहरू स्पष्ट बुझन सक्छौँ । वि.स. २०३६ पछिका कथालेखन काललाई समसामयिक धारा अन्तर्गत लेखिएका कथाका रूपमा चिन्छौँ । विषेशत वर्तमानमा लेखिएका कथाहरू समसामयिक धारालाई पच्छ्याएर लेखिएको पाइन्छन् ।

समसामयिक धारामा लेख्ने कथाकारहरूले नेपाली कथालाई वैश्विक सन्दर्भसँग जोड्ने कार्य गरेका छन् । सामाजिक जीवन मूल्यको स्थापना, जीवनको यथार्थ र सत्यको प्रस्तुति, सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्यजस्ता कुराहरू यस धाराका कथागत प्रवृत्ति हुन् ।

यस्ता प्रवृत्तिका कथाहरू वर्तमान समयमा निकै सान्दर्भिक साथै लोकप्रिय छन् । एउटा व्यक्तिले आफ्नै समयको इतिहास बनाउन चाहन्छ, यसकारण पनि समसामयिक धारमा लेखिएका कथाहरू पाठकको रुचिका विषय बन्ने गरेका छन् । वर्तमान समयमा यस्ता कथा लेख्ने क्रम वढेको छ । यसै क्रममा क्रमबद्ध भएर उभिएका छन्, कथाकार रवीन्द्र केसी तथा उनको कथा सङ्ग्रह ‘सम्बन्धको दोबाटो’ ।

सायद यही नै होला सम्बन्धको दोबाटो पनि । को कहाँ कतिबेला आत्मीय बन्छ, कति बेला टाढा बन्छ । सम्बन्ध भनेकै त्यही हो, दोबाटोमै भेट हुन्छ, दोबाटोमै छुटिन्छ । तर रवीन्द्र केसीको यो सम्बन्ध भने वर्षौँ वर्ष ताजै रहने विश्वास छ, ‘सम्बन्धको दोबाटो’का कथाहरूमार्फत ।

‘सम्बन्धको दोबाटो’कथा सङ्ग्रहभित्र एक्काइस ओटा कथाहरू रहेका छन् । उनको कथा लेख्ने शैली आम कथाकारहरूको भन्दा फरक रहेछ । एक्काइस ओटै कथामा विषयवस्तुको विविधता झल्किएको देखिन्छ । स्थान, काल, पात्रहरूको छनोटले कथाहरू पाठक आफैले भोगेका जस्ता लाग्छन् । रवीन्द्र केसीको लेखन शैली उच्च स्तरीय छ । मैले कथाकारसँग धेरै सङ्गत गर्न सकेको छैन, तर कथाका माध्यमबाट भने वर्षौँको नाता भए जस्तो आत्मीय भएको छ ।

सायद यही नै होला सम्बन्धको दोबाटो पनि । को कहाँ कतिबेला आत्मीय बन्छ, कति बेला टाढा बन्छ । सम्बन्ध भनेकै त्यही हो, दोबाटोमै भेट हुन्छ, दोबाटोमै छुटिन्छ । तर रवीन्द्र केसीको यो सम्बन्ध भने वर्षौँ वर्ष ताजै रहने विश्वास छ, ‘सम्बन्धको दोबाटो’का कथाहरूमार्फत ।

कथा लेखनका क्रमसँगै उनको आत्मस्वीकृति यस्तो छ,‘व्यावसायिक यात्रामा म देशबाहिर वा भित्र जहाँजहाँ पुगेँ, त्यहाँको सामाजिक मूल्य, मान्यता, चेतना र पारिवारिक जीवनशैलीप्रति चासो राख्दै गएँ । भिन्न–भिन्न भूगोलका भौतिक विकास एवम् मानवीय समृद्धिको स्तरमा मैले आकाश–जमिनको अन्तर पाएँ । कतै सुन्दर, मनमोहक र उन्मुक्त खुसी देखेँ भने कतै रोग, भोक र दरिद्रताका पीडा अनि आँसु देखेँ । जीवनकालमा म पुगेको ठाउँहरू, देखेको समाज र भेटेका मानिसकहरु सबै मलाई खुला विश्वविद्यालयजस्तै लागे । तिनले मलाई धेरै कुरा सिकाए र अझै धेरै कुरा सिक्न बाँकी रहेको अनुभूति पनि गराए ।’

यस्तै सुन्दर विचार सँगै सिर्जना भएका उनका कथाहरू जीवन भोग्ने र सिक्ने क्रमका अनुभूतिहरू हुन्, समग्र मानवीय संवेदनाका तिखा स्वरहरू हुन् । फरक–फरक भूगोल र परिवेशले सिकाएका अमूल्य सिर्जना हुन् । एक पटक पढेपछि हाम्रो समाजका घटना ताजा बन्ने, वर्तमान समयमा हामीले नै भोगेका, सुनेका, देखेका तथा अनुभव गरेका सूक्ष्म कुराहरू कथामा अटाएका छन् । स्वदेश तथा विदेशका भूगोलमा लेखिएका यी कथाहरू शाश्वत प्रेमका अमूल्य निधिका रुपमा हामीले ग्रहण गर्न सकिन्छ ।

विधा : कथा
कथाकार : रवीन्द्र केसी
प्रकाशक : शिखा बुक्स
मूल्य : रु.४७५
पृ.२४२

प्रतिक्रिया दिनुहोस्