काठमाडौं । अत्यधिक गर्मीका कारण एक हजारभन्दा बढी हजयात्रीको मृत्यु भएको साउदी अरबले जनाएको छ । साउदीका स्वास्थ्यमन्त्री फद अल जलाजेलले अत्यधिक गर्मीका कारण मृत्यु हुने हजयात्रीको संख्या १ हजार ३०१ पुगेको जानकारी दिएका छन् ।
अरबी समाचार संस्थाहरूका अनुसार गर्मीले बिरामी परेका पाँच लाखभन्दा बढी व्यक्ति अस्पताल भर्ना भएका छन् । अस्पताल भएका पाँच जनामध्ये चारजनामा अनुमति नहुने भेटिएको छ ।
मृत्यु हुनेमा अवैध बाटोबाट जानेहरू धेरै रहेको बताइएको छ । मन्त्रालययले ८३ प्रतिशत मृतकहरू अवैध बाटोबाट र कुनैपनि स्वास्थ्य सुरक्षा अनपनाइ आएकाहरू रहेको जनाएको छ । मृतकहरू अधिकांश बालबालिका र बिरामी वृद्धवृद्धाहरू रहेको पनि मन्त्रालयले जानएको छ । मृतक सबैका आफन्तसँग सम्पर्क भइसकेको मन्त्रालयले भनेको छ ।
मक्कामा यसपालि तापक्रमा ५२ डिग्री सेल्सियससम्म पुगेको थियो । अत्यधिक तापक्रममा हिँड्दा हृदयाघात, निमोनिया र रगत संक्रमण भएर मानिसहरूको मृत्यु भएको छ ।
हजयात्राका नेपालसहित विभिन्न मुलुकले आधिकारिक रूपमा आफ्ना देशबाट सहभागी हुनेहरूको सूची पठाउँछ । तर, त्यसबाहेक धार्मिक कर्तव्य पूरा गर्न भनेर त्यसबाहेकका इस्लाम धर्मावलम्बीहरू पनि मक्का जाने र त्यसको रेकर्ड नहुने भएकाले मृतकको संख्या बढेको हो ।
मक्का जाँदा अत्यधिक तापक्रमका कारण बाटोमै पनि सयौं हजयात्रीको मृत्यु भएको बताइएको छ । मक्कामा यसपालि १८ लाख मानिसलाई अनुमति दिइएको थियो । अनुमित प्राप्त हजयात्रीहरूका लागि विभिन्न सुविधाहरू हुन्छ । तर, यसका लागि ठूलो रकम लाग्छ ।