Logo
Logo

मन्त्री रिझाउन ९० करोडको ठेक्का


12.2k
Shares

काठमाडौं । नेपाल टेलिकममा थाँती रहेका ठेक्काहरुमा निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीले धमाधम निर्णयहरु लिएकी छिन् । टेलिकमको प्रबन्ध निर्देशकको दौडमा रहेकी संगीताले आफ्नो पक्षमा माहोल तयार गर्न शक्तिकेन्द्रहरु रिझाउने गरी निर्णयहरु लिएकी हुन् ।

संगीताले हालैमात्र ९० करोडको टेन्डर मैनावती कम्पनीलाई दिएकी छिन् ।सुरुको टेन्डरमा छनोट नभएको यो कम्पनी प्राविधिक पुनरावलोकन पुनः गराएर छनोटमा पारिएको हो । त्यसका लागि फेरि कमिटी बनाइएको खुलेको छ । आफू अनुकूलको मूल्यांकन कमिटी बनाएर मैनावतीलाई ९० करोडको ठेक्का दिलाउनुमा सञ्चारमन्त्री रेखा शर्मालाई खुशी बनाउने भित्री उद्देश्य रहेको बुझिएको छ ।

सुनिल पौडेल प्रबन्ध निर्देशक हुँदा नै ९० करोडको उक्त ठेक्का प्रक्रिया बढाइएको थियो । पौडेल अख्तियारले मुद्दा दायर गरेपनि निमित्तमा ल्याइएकी संगीताले सुनिलकै कामलाई निरन्तरता दिइन् । उनले मोटो कमिशनमा ठेक्का प्रक्रियाहरु बढाइन् । मैनावतीलाई ठेक्का दिलाउन टेलिकमका निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीका पति विश्वबन्धु पहाडी र सञ्चारमन्त्री रेखा शर्माका पति कृष्णध्वज खड्का मिलेर चलखेल गरेको बुझिएको छ ।

डिल्ली अधिकारी प्रबन्ध निर्देशक हुँदादेखि नै संगीता पहाडी महत्वपूर्ण भूमिकामा थिइन् । सुनिल पौडेल प्रबन्ध निर्देशक भएपछि टेलिकमको विवादास्पद ठेक्का प्रक्रियाले निरन्तरता पायो, जसमा संगीता संलग्न भएकी छिन् । उनी सुनिलले अगाडि बढाएका काम सिध्याउन हतार हतारमा लागिपरेकी छिन् । जसमा टेलिकम र राज्यलाई दशौं करोडको नोक्शान पु¥याइएको तथ्यहरु फेला परेका छन् ।

संगीता पहाडीले महत्वपूर्ण सञ्चारमाध्यमहरुबाट आफ्नो विरोधमा समाचार रोक्न ठूला परियोजनाहरु नै स्वीकृत गराउन खोजेको विश्वस्त स्रोतले बताएको छ । कान्तिपुरलाई ५० लाखको परियोजना स्वीकृत गराउन सञ्चारसचिव रामकृष्ण सुवेदी कहाँ फाइल लिएर पुगेकोमा सिधै मिल्काइएदिएको विश्वस्त स्रोतले बताएको छ । गृहमा समेत काम गरिसकेका सुवेदी खरो स्वभावका मानिन्छन् । संगीताले मिडियामार्फत् आफ्नो भ्रष्टाचारका विषयहरु रोक्न यस्ता रणनीति चालिरहेकी छिन् । उनले विभिन्न खरिद प्रक्रियामा गरेको भ्रष्टाचारको फाइलमाथि अख्तियारले छानविन चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्