Logo
Logo

ओलीकै कारण सिद्धिँदै प्रचण्ड


4.8k
Shares

अहिले नेपालको राजनीतिमा सबैभन्दा बढी बेचैनी कोही छन् भने ती हुन्, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रधानमन्त्री नै बेचैनी र अस्थिर भएपछि त्यो देशको सुशासन, विकास र राजनीतिको हालत कस्तो होला, जवाफ हो, अहिले जस्तै अस्तव्यस्त ।

यो अस्तव्यस्तको कारण पनि उनी स्वयं हुन् । उनी स्थिर र गम्भीर स्वभावका हुन्थे भने यति धेरै छटपटिनुपर्ने अवस्था आउने थिएन । तेस्रो दल भएर पनि प्रधानमन्त्री बनेकै थिए । तर, अस्थिर मनस्थितिका कारण प्रधानमन्त्री भएर पनि सबैभन्दा बढी तनाव उनलाई नै छ ।

कहिले कांग्रेस त कहिले एमालेको टेकोमा अडेको सरकार कतिबेला ढल्छ भन्ने कुरा स्वयं उनलाई थाहा छैन । आफू बाँचुन्जेल उथलपुथल गर्छु भन्ने उनीले अब फेरि के उथलपुथल गर्ने हुन् त्यो पनि उनी स्वयंलाई थाहा छैन ।

नेपालको राजनीतिक इतिहासमा नायक बनेर उदाएका उनी यति चाँडै ‘नालायक’ बन्लान् भन्ने कसैले सोचेका थिएनन् । दश वर्षे ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएपछि सबैले उनलाई ‘हाइहाई’ गरेका थिए । वास्तवमा, शान्ति प्रक्रियामा आएर उनले इमानदारीपूर्वक देश बनाउँछु भन्ने सोचेको भए देश बन्ने थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्रले एउटा बाटो समाउने थियो । आर्थिक विकासले देश समृद्धिको यात्रामा अगाडि बढ्ने थियो । हिजोको राजनीतिक विकृति र विसंगतिविरुद्ध उनले हतियार उठाए, त्यसप्रति आफैँ इमानदार भइदिएको भए त्यसले मुलुकको हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने थियो ।

तर, दुर्भाग्य, समय क्रममा तेस्रोपटक प्रधानमन्त्री भइरहँदा उनी स्वयं राजनीतिक विकृति र विसंगतिको संवाहक बन्न पुगे । राजनीतिमा अगुवा नेताको ‘ग्राफ’ ओरालो लाग्नु भनेको पतनको बाटो हो । त्यो बाटोमा जानबाट रोक्ने भनेको उनी स्वयंको बोली र व्यवहारले हो । भनिन्छ, यदि तिमीले तिमीलाई सुधार्न सक्दैनौँ भने तिमीलाई अरू कसैले सुधार्न सक्दैन ।

पक्कै पनि, प्रचण्डलाई सुधार्न ओलीले साथ दिएको होइन, प्रचण्डको कमजोरीमाथि खेलेर उनलाई सिद्ध्याउन सत्ता गठबन्धन परिवर्तन गरेका हुन् । एमालेसँग सत्ता गठबन्धन गरेको दिनबाट प्रचण्डमा छटपटी बढेको छ । यति छटपटी त ओलीसँग २०७४ सालमा सहकार्य गर्दा र टुट्दा पनि बढेको थिएन ।

प्रचण्डलाई नेकपाको अध्यक्ष बन्न नदिनकै लागि संसद् विघटन गरेको कुरा त ओली स्वयंले गत साता बोलिसके । ओलीले संसद् विघटन नगरेको भए एमाले जोगिने थिएन भनेर मुखै खोलेर बोल्नुको पछाडि प्रचण्डलाई सिध्याउनु थियो भन्ने नै हो । राजनीतिका चतुर खेलाडी प्रचण्डले यति कुरा पनि विश्लेषण नगरी एमालेसँग हातेमालो गर्न अगाडि सर्नु भनेको आफ्नो खुट्टामा आफैँले बन्चरो हान्नु हो ।

नेपालको राजनीतिक इतिहासमा नायक बनेर उदाएका प्रचण्ड यति चाँडै ‘नालायक’ बन्लान् भन्ने कसैले सोचेका थिएनन् । प्रचण्डलाई सुधार्न ओलीले साथ दिएको होइन । प्रचण्डको कमजोरीमाथि खेलेर उनलाई सिद्ध्याउन सत्ता गठबन्धन परिवर्तन गरेका हुन् । एमालेको चेपुवामा परेर ढिलोचाँडो सिद्धिने भनेकै प्रचण्ड हो ।

त्यति मात्र होइन, ओलीको प्रतिगमनविरुद्ध आन्दोलन गरेका कांग्रेस, एकीकृत समाजवादी र जसपालाई धोका दिनु हो । प्रतिगमन अझै सकिएको छैन । सर्वोच्चको आदेशले रोकिएको मात्र हो । यस्तो बेला कमजोर प्रधानमन्त्री बनेर बस्नु प्रचण्डको लागि घातक हो ।

कांग्रेससँगको गठबन्धन कमसेकम संविधान रक्षाका लागि थियो । राजनीतिक स्थिरता र संविधान कार्यान्वयनका लागि आलोपालो पाँचै वर्ष सरकार चलाउने भद्र सहमति बनेको थियो । त्यो ‘लिक’बाट हट्नु भनेको ओलीको प्रतिगमनलाई साथ दिनु हो । फेरि कुनै पनि बेला संसद् विघटन हुनु हो ।

धोकाको राजनीति धेरै दिन चल्दैन, त्यसैले प्रचण्डको छटपटी बढेको हुनसक्छ । छट्टु स्यालको कथाजस्तै एक÷दुईपटक गाउँलेलाई झुक्क्याउन सकिएला, सधैँ सकिन्न भन्ने कुरा प्रचण्डले बुझे भने, राजनीति फेरि ‘लिक’मा फर्किएला, अन्यथा एमालेको चेपुवामा परेर ढिलोचाँडो सिद्धिने भनेकै प्रचण्ड हो ।

माओवादीलाई सिद्ध्याउन देशी–विदेशी प्रतिक्रियावादीहरू सुरुदेखि नै सक्रिय थिए । अहिले आएर तिनै प्रतिगामी, प्रतिक्रियावादीहरूको चङ्गुलमा प्रचण्ड फसेका छन् । उनको हालत ‘तावाबाट उम्केको माछा भुम्रोमा’ भनेझैं हुने धेरै दिन बाँकी छैन ।

प्रतिक्रिया दिनुहोस्