कुनै समय यस्तो पनि थियो, तत्कालीन मालेका कार्यकर्ताहरूले सिपी मैनालीको जस्तै राम्रो अक्षर लेख्न कोसिस गर्थे, एमालेमा मदन भण्डारीले जस्तो शैली अपनाउन खोज्थे ।
माओवादीका कार्यकर्ताहरूले पनि प्रचण्डको बोली, हाउभाउ र चालढालजस्तै कुम हल्लाएर भाषण गर्थे । उनलाई नायक मान्थे, जनताका मुक्तिदाता मान्थे र एउटा असल अभिभावक मान्थे । यस्तो अपार माया, सम्मान र श्रद्धा बिरलै नेताहरूप्रति देख्न पाइन्छ ।
यो नेताहरूप्रतिको उच्च सम्मा थियो । तर आज यस्तो स्थिति छैन । सबै नेताहरू आलोचनाको घेरामा परेका छन् । हुन त उनीहरूकै नेतृत्वमा संघीयता, धर्मनिरपेक्षता, समावेशितासहितको गणतन्त्रात्मक शासन प्रणालीको स्थापना भयो । देश र जनताको निम्ति यो असाध्यै ठूलो योगदान हो । योगदान गरे भन्दैमा नमरेसम्म कुर्सीमा टाँसिन्छु भन्ने सोच गलत हो । नेतृत्व भन्ने कुरा पानी जस्तै सग्लो बन्दै जानुपर्छ । पानी बगेन भने लेउ लाग्छ । लेउ लागेर धेरै पार्टी बन्द पनि भएका छन् ।
नेकपा (एस)को आगामी नेतृत्व कस्तो हुनुपर्छ ? देशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक नीति र कार्यक्रम कस्तो बनाउने ? कुन वर्गको पार्टी बनाउने ? देशमा सुशासन कसरी कायम गर्ने ?
जनताको रोजीरोटीको समस्याको समाधान कसरी निकाल्ने आदि विषयमा बहस केन्द्रित गर्नुपर्छ । यसको अर्थ महाधिवेशनसम्म वस्तुपरक तर अत्यन्तै गम्भीर, निर्मम भएर, कठोरभन्दा कठोर आलोचना गर्दै हार्दिकतापूर्वक छलफल गर्ने, निष्कर्ष निकाल्ने र त्यही निष्कर्षअनुसार पार्टीलाई अघि बढाउने भन्ने नै हो ।
नेकपा (एस) नेकपा (एमाले)मा विद्रोह गरेर बनेको पार्टी हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधानअनुसार चलाएनन्, अध्यक्षले पार्टीमा मनोमानी गरे, प्रधानमन्त्री भएर आफ्नै दुईतिहाइको संसद विघटन गरे । संविधान सिध्याउन खोजे । पटकपटक संविधान मिच्ने काम भयो । पार्टीको आन्तरिक लोकतन्त्र थप कमजोर बन्यो । नेता, कार्यकर्तालाई हली गोठाला बनाइयो । फरक बिचार राख्नेहरूको निम्ति पार्टीभित्र हेपियो भनेरै विद्रोह गरेको हो । त्यो विद्रोहको औचित्य पुष्टि हुनुपर्छ ।
कुनै पनि राजनीतिक पार्टी सैद्धान्तिक, वैचारिक हिसाबले प्रस्ट हुनुपर्छ । यो नेकपा (एस)मा पनि लागू हुन्छ । पार्टीका सदस्यहरूको जिम्मेवारी योग्यता र क्षमताअनुसार फरकफरक हुने कुरामा दुईमत छैन । तर, तिनीहरू सबै समान हुनुपर्छ । पार्टीका सबै सदस्यहरूले श्रम गरेर कमाउने, त्यसमा नियमानुसार लाग्ने कर राज्यलाई तिरेर बाँकी रहेको आयबाट आफ्नो र परिवारको जीविका चलाउनुपर्छ । जनताबाट कुनै पनि प्रकारको घुस, उपहार लिनु हुँदैन ।
माओले भनेजस्तो सापटी लिएको सियो पनि काम सकेपछि जनतालाई फिर्ता गर्नुपर्छ भन्ने बुझेका नेता र कार्यकर्ताहरूको पार्टी बनाउनुपर्छ । नेकपा (एस)लाई नेतामुखी पार्टी होइन, सामूहिक नेतृत्वमा चल्ने जनतामुखी पार्टी बनाउनुपर्छ । व्यक्तिगत स्वार्थ पूरा गराउन यो कुना र त्यो कुना गर्ने नेताहरूको पार्टी बनाउने होइन । त्यसकारण पार्टीमा उल्लेखित सवालहरूमा प्रष्टता चाहिन्छ ।
यस्तो प्रष्टताले कार्यकर्ता, समर्थक र जनतामा आकर्षण, उत्साह र ऊर्जा पैदा गराउन सहयोग गर्छ । यस्तो उत्साह र ऊर्जा भनेको रेलको इन्जिनजस्तै हो । तर, पार्टीमा यस्तो प्रष्टता देखिएको छैन ।
यस्तै–यस्तै र अरू पनि कारणले हुनुपर्छ कार्यकर्ता मात्रै होइन, नेताहरू पनि पार्टी छोडेर अन्यत्र ‘ज्वाइन’ गरिरहेका छन् । पार्टीभित्र गुटबन्दी पनि उस्तै छ । नेतृत्व तहमा पानी बाराबारकै स्थिति देखिन्छ । पार्टीले राम्रोसँग आकार ग्रहण गरी नसक्दै कार्यकर्ताहरूले पार्टी छोड्ने अवस्था आउनुलाई राम्रो मान्न सकिन्न ।
हामीलाई चाहिएको नेतृत्व भनेको सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, अन्तर्राष्ट्रिय भाइचाराजस्ता मुद्दाहरू राम्रोसँग बुझेको हुनुपर्छ । समाजमा हुने अन्याय, अत्याचार, असमानता, उत्पीडन, भ्रष्टाचारजस्ता विषयमा संघर्ष गर्ने, त्यसका विरुद्धमा लड्ने नेतृत्व हामीले खोजेको हो । समयअनुसारको विचारको निर्माण गर्न सक्ने, आजको ज्ञान (टेक्नोलोजी), विश्वको अर्थतन्त्र बुझेको, पर्यावरणीय समस्या र चुनौती, पुँजी निर्माण, उत्पादन र वितरण आदि बुझेको नेतृत्व समयको माग हो ।
महँगीले सीमा नाँघेको छ । बेरोजगारीको समस्या उस्तै छ । भ्रष्टाचार राजनीति र प्रशासन दुवै क्षेत्रमा मौलाउँदो छ । तर खै त महँगी, बेरोजगारी, भ्रष्टाचारको विरुद्धमा एकीकृत समाजवादीले आन्दोलन गरेको ? पार्टीको बिस्तार हुन नसक्नुमा अन्य अनेकौँ कारणहरूमध्ये जनताको मुद्दामा उदासीनता रहनु पनि एउटा प्रमुख कारण हो । १० सिट प्रतिनिधि सभामा भए पनि सबै सांसद पदलोलुप हुनु देखिएका छन् । संसदमा जनताका मुद्दा उठाउन उनीहरू डराइरहेका छन् । पार्टीले स्पष्ट निर्देशन दिन सकेको छैन ।
जनताको मुद्दामा मुखर भएर लड्ने नेता महाधिवेशनले चुन्नुपर्छ । पार्टीलाई जीवन्त राखिरहन नयाँ कार्यकर्ता र समर्थकहरू उत्पादन गरिरहनुपर्छ । यो पार्टीमा स्थापनाकालदेखि नयाँ आउने क्रम बन्दजस्तै छ । किनभने हामीले कुनै आकर्षण पैदा गर्न सकिरहेका छैनौँ । आकर्षण पैदा नहुनुको कारण लगातार एउटै, उही परम्परागत र असान्दर्भिक दृष्टिकोण बोकेको नेतृत्व नै हो ।
विचारधारा, आर्थिक, सामाजिक नीति र सांस्कृतिक हिसाबले आकर्षित गर्न नसकेपछि पार्टीको विस्तार हुन सक्दैन । त्यसकारण यदि नयाँ विचार, नयाँ दृष्टिकोण लिएर दोस्रो वा तेस्रो तहका नेताहरू पार्टीको नेतृत्व लिन अघि सर्छन् भने कुनै लोभलालचमा नपरी, खुसी मनले नेतृत्व पुस्तान्तरण गर्न तयार हुनुपर्छ । यदि, नेकपा (एस)को दोस्रो वा तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुन सक्यो भने मात्र त्यसले एमाले, माओवादीलगायतका अन्य सबै दलहरूलाई पनि त्यसो गर्न बाध्य पार्नेछ र त्यो नै अन्तिममा गएर बाम एकता गर्ने आधार बन्न सक्छ ।
सारमा, हामीले भनेको समाजवाद हो । समाजवाद भनेपछि बिचार, नीति र कार्यक्रम पनि समाजवादी नै हुनुपर्छ । चुरो कुरा यही हो । जनताको निम्ति आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक न्याय दिने नीति तथा कार्यक्रम चाहिन्छ । अतः समाजवादको लक्ष्यलाई हासिल गर्न यी माथि उल्लेखित विषयहरूलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्छ । ‘जब जागा तब सबेरा’ भनेजस्तो महाधिवेशनबाट समाजवादी नीति तथा कार्यक्रम बनाउन सक्ने नयाँ नेतृत्व चुनेर अघि बढ्नुको विकल्प छैन ।