काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् ।
बुधबार ताहचलस्थित श्रम विभागको कार्यालय अनुगमन गर्दै मन्त्री अर्यालले सिंहदरबाबाट मन्त्रीले निर्देशन दिने नभई कर्मचारीको उत्साह जगाउन कार्यस्थल पुगेर गुनासो सुन्नुपर्ने बताएका हुन् । मन्त्रीहरुले मन्त्रालयमा बसेर निर्देशन दिनेभन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीहरूलाई उत्साह जगाउन आवश्यक रहेको उनको भनाई थियो ।
उनले एक घन्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवाग्राहीलाई कसरी सेवा दिइरहेको विषयमा अनुगमन गर्न कार्यस्थलमा गएको बताए । मन्त्री अर्यालले एक घन्टामा श्रम स्वीकृत अनलाइनमार्फत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिको लागि आउनेहरू कमी देखिएको बताए ।