Logo
Logo

पार्टी विभाजनविरुद्ध सजग हुन आह्वान


- दृष्टि न्युज/संवाददाता

882
Shares

  • मोहनचन्द्र अधिकारी

नेपाल कम्युनिष्ट पार्टी आन्दोलनका धरोहर मोहनचन्द्र अधिकारीले दृष्टि अनलाइनमार्फत नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवशको अवसरमा सम्पूर्ण नेपाली जनताको सपना दुई तिहाईको नेकपा सरकारले पूरा गर्न सकोस् भनी शुभकामना दिएका छन् । साथै, विभिन्न आन्दोलनका क्रममा शहीद भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मोहनचन्द्र अधिकारी

आज बिहान दृष्टि अनलाइनसँग संक्षिप्त टेलिफोन वार्ता गर्दै अधिकारीले आजकै दिन कमरेड पुष्पलालले कोही पनि नेपाली जनता भोक, रोग र शोकले मर्न नपरोस् भनेर कम्युनिष्ट पार्टी स्थापना गरेको बताए । गरिब, मजदूर, किसानको हितमा आफूले पनि सिंगो जीवन अर्पण गरेको स्मरण गर्दै अधिकारीले भने, ‘यस्तो अवस्थामा पार्टी टुक्राउने राष्ट्रपतिबाट अध्यादेश जारी गर्नु चिन्ताको विषय हो ।’ यस्तो विधेयकले लोकतन्त्र कमजोर हुने हुँदा विधेयक फिर्ता लिन बुद्धिमानी हुने उनको भनाइ छ ।
दृष्टि अनलाइनसँग कुराकानी गर्दै अधिकारीले भने, अहिले कम्युनिष्ट पार्टीलाई प्राप्त दुई तिहाई मत कुनै एउटा व्यक्ति विषेशलाई दिएको मत नभइ सिंगो एकीकृत पार्टीलाई जनताले त्यो मत दिएको हुँदा जनताको भावनामाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको बताए ।
‘नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा गुट–उपगुट र विखण्डन जस्ता धेरै कुरा हामीले पनि भोगेर आयौँ । त्यो इतिहास फेरि दोहोरिन दिन हुँदैन भनेरै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको हो । पार्टी एकताले पुर्णता नपाउँदै पार्टी विभाजनसम्बन्धी विधेयक ल्याइनु कम्युनिष्ट आन्दोलनको लागि दुर्भाग्य हो’ अधिकारीले भने ।
यसै सन्दर्भमा अधिकारीले जोड दिँदै भने, ‘अब कुन पार्टी फुट्छ, त्यतातिर ध्यान नदिऔँ । हजारौँ जनताको बलिदानीबाट स्थापित नेपाल कम्युनिष्ट पार्टीलाई फुट्नबाट जोगाऔँँ । गुट, फुट र अराजकताविरुद्ध सिंगो नेपाली जनता एक हौँ । किनभने, त्यो विधेयक सही नियतले आएको छैन । विधेयकका विषयमा पार्टीमा छलफलसम्म भएको छैन । कम्युनिष्ट पार्टी भनेको विधि र पद्दतीसम्मतले चल्ने पार्टी हो । त्यसैले कम्युनिष्ट पार्टीको आज स्थापना दिवश हामीले मनाइरहँदा पार्टी नै फुट्ने हो कि भन्ने चिन्तामा कुनै पनि नेता, कार्यकर्ता रहनु हुँदैन । कम्युनिष्ट पार्टीको जग भनेकै तल्लो तहका नेता तथा कार्यकर्ता भएको हुँदा यो गुटबन्दीविरुद्ध गोलवद्ध हुन सम्पूर्ण नेता कार्यकर्तामा आह्वान गर्दछु’ अधिकारीले दृष्टि अनलाइनसँग भने ।

प्रकाशित मिति  : बुधबार, १० बैशाख २०७७

प्रतिक्रिया दिनुहोस्