Logo
Logo

रविको राजनीतिक भविष्य नै जोखिममा


3.5k
Shares

नेपालीमा एउटा उखान छ– भुक्ने कुकुरले टोक्दैन । यो उखान नेपाली राजनीतिसँग पनि मिल्दोजुल्दो छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग यो उखान ठ्याक्कै मिल्छ । आजभन्दा ठिक दुई वर्ष अगाडि मात्र पछाडि ‘बा’ झुण्डिएका नेताहरूलाई विश्राम दिने भन्दै सञ्चारकर्म छाडेर राजनीतिमा होमिए । ‘बा’हरूबाट देश अगाडि नबढ्ने भन्दै राजनीतिमा होमिएका तिनै रवि आज ‘बा’हरुको असली सन्तान जस्ता बनेका छन् ।

रविले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘नानीको बा’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘केपी बा’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘देउवा’को संज्ञा दिएका थिए । तर, त्यो समयको जोस, जाँगर र काम गर्ने हुटहुटी अहिले रविमा सेलाउँदै गएको छ । किनभने अहिले रविको तीनै ‘बा’हरूसँग उठबस छ ।

कतिसम्म भने आफु मन्त्री बन्न सिंगो पार्टीलाई नै रविले संकटमा पारेका छन् । राजनीतिमा होमिँदै गर्दा रविले भनेका थिए– ‘राजनीति फोहोरी खेल हो । म पनि त्यही फोहोरी खेल सफा गर्न उत्रिएको छु । केही समय ममाथि पनि फोहोर देखिन सक्छ । तर, नझुक्किनु होला । म त्यो फोहोरलाई सफा पार्न आएको हुँ । फोहोरलाई सफा पार्न सुरुमा फोहोरमै पस्नुपर्छ ।’

रविको कुरा सही नै हो । यहाँ राजनीति फोहोरी नै भएको छ । यहाँ जो कोहीले राम्रो काम गर्छु भनेपनि त्यो फोहोरमा डुबेपछि निस्किन र फोहोरलाई सफा गर्न कुनै नेताले सकेका छैनन् । रवि पनि त्यही फोहोरको खाल्डोमा डुबेका छन् ।

ओली र प्रचण्डका कारण रवि निस्कनै नसक्नेगरी फोहोरको खाल्डोमा डुबेका हुन् । रास्वपा पनि पुराना पार्टीभन्दा एकरति पनि फरक देखिएको छैन । कहीँ नयाँ गर्ने उद्घोषसहित राजनीतिमा लागेका रवि पुरानै पार्टीको पदचापलाई पछ्याएका छन् ।

प्रचण्ड र ओलीले रविको पछाडि भएको जनमतलाई कमजोर बनाउनको लागि पटकपटक सरकारमा सहभागी गराएर प्रयोग गर्दै आएका छन् । वैकल्पिक राजनीतिक दलको रुपमा उदाएको रास्वपालाई एमाले, माओवादीले पुलपुल्याएर सत्तामा लगे । र, आफूजस्तै बनाए ।

अहिले रास्वपा पनि पुराना दलभन्दा फरक नभएको प्रमाणित भइसकेको छ । त्यस्तै सहकारी प्रकरणले रवि पनि सच्चा छवि नभएको पुष्टि भएको छ । तर, पनि भ्रष्टाचारको ठूल्ठूलो फाइल खोल्ने भन्दै प्रचारबाजीमा लागेका छन् । रविसँग कल्पना मात्रै रहेको छ । काम गर्ने क्षमता छैन भन्ने प्रस्ट भइसकेको छ ।

कुनै समय आफू सरकारमा भए एक सय दिनमै कायापलट गर्ने दाबी गरेका रवि दोस्रो पटक गृहमन्त्री बन्दा आफै भ्रष्टाचारको खाल्डोमा डुबेका छन् । अहिले उनको कामभन्दा बढी विवादको चर्चा हुने गरेको छ । विवादको अर्को नाम नै रवि लामिछाने भएको छ । पहिले सरकारमा हुँदा नागरिकता र राहदानी विवादमा तानिए । उनले गृहमन्त्री, सांसद र रास्वपा सभापति पदसमेत गुमाउनु पर्यो ।

सरकारको लोभमा फस्नु र पुरानैभन्दा फरक नदेखिनुले रविको मिसन–८४ मा धक्का लाग्ने देखिन्छ । यही अवस्थामा पुराना दलसँग लसपस गरिरहे रवि हराएर जान कुनै आइतबार कुर्न पर्दैन । छेपारोलेजस्तो छिनछिनमै रंग फेर्ने रविको प्रवृत्तिले उनको राजनीतिक भविष्य ओझेलमा पार्ने निश्चित छ ।

अहिले उनी सहकारी विवादमा तानिएका छन् । सरकारमा नभए उनी अनुसन्धानमा तानिसक्थे । तर, सरकारमै भएका कारण अहिलेसम्म उनीमाथि अनुसन्धान भएको छैन । ओलीकै आशीर्वादले उनी अहिलेसम्म सत्तामा रहिरहन सफल भएका छन् ।

यता, रवि क्षणिक चर्चामा रमाइरहेका छन् । छोटो समयमा चौथो दल बनेपछि हौसिएका रवि अझै पनि पार्टी पपुलारिटीकै पछि दौडिरहेका छन् । पार्टी संगठनलाई बलियो बनाउनुपर्छ भन्ने उनलाई लागेको छैन । पार्टीका विद्वान नेताहरूले संगठनमा केन्द्रित हुन दिएको सुझावले आजसम्म काम गरेको छैन ।

त्यसैले रास्वपालाई ओली, प्रचण्डलगायत नेताहरूले बर्खे भेलको संज्ञा दिन थालेका छन् । रविको लोकप्रियतालाई कमजोर बनाउन पटकपटक मन्त्री बनाई नयाँ पनि पुराना दलजस्तै रहेको भाष्य रास्वपामाथि निर्माण गर्न सफल भएका छन् । रवि भने गृह मन्त्रालयको लोभमा चुर्लुम्म डुबेका छन् ।

मन्त्रालयको नेतृत्व लिँदै गर्दा रविमा देखेको जोस, जाँगर र हुट्हुटीअनुसार कुनै काम गर्न सकेका छैनन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनमा भएगरेका कामको सूची सार्वजनिक गर्दै रवि आफैँले सोचेजस्तो काम गर्न नसकेको स्वीकारेका छन् ।

रविले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा निर्मला पन्तको फाइल खोल्न निर्देशन दिएका थिए । तर, दुई पटकसम्म गृहको नेतृत्व सम्हालेका रविले आजसम्म न निर्मलाको केसमा काम गर्न सकेका छन् न त अन्य कुनै काण्डको फाइल नै खोल्न सकेका छन् ।

पछिल्लो समय रवि पार्टीभित्र पनि अल्पमतमा परेका छन् । रविको कोर टिम मानिने पार्टी महामन्त्री डा. मुकुल ढकालसमेत उनको विपक्षमा उभिएका छन् । मुकुल अब ठूलो निर्णय नलिए पार्टी जोगाउन मुस्किल हुने निष्कर्षमा पुगेका छन् ।

यता, सत्ता छोड्नुपर्ने एक पक्षको माग रहेको समयमा मुकुलको पनि यस्तो अभिव्यक्ति आउनुलाई शंकाको नजरबाट हेर्दा कोर टिमका रवि र मुकुल जुधेजस्तो देखिएर खेलकुदमन्त्री समेत रहेका बिराजभक्त श्रेष्ठ कमजोर बनाउन खोजिएको रुपमा पनि हेर्न सकिन्छ । किनभने, यसो गर्दा सरकार रविले र पार्टी संगठन मुकुलले हेर्दा बिराजभक्त पक्षले नजर उठाउन पाउने छैन ।

देशभर समीक्षा यात्रामा निस्किएका महामन्त्री ढकालले तत्काल सरकार छाड्न पर्ने सन्देश दिँदा रविले समीक्षा यात्राको सुझाव मान्ने बताएका छन् । यदि, रविले समीक्षा यात्राको सुझाव मान्ने हो भने तत्काल सरकार छाड्नु पर्ने छ । तर, त्यो निर्णय लिन रवि अहिले तयार छैनन् । किनभने, उनले सरकारको स्वाद मजाले लिइसकेका छैनन् ।

सरकारको लोभमा फस्नु र पुरानैभन्दा फरक नदेखिनुले रविको मिसन ८४ मा धक्का लाग्ने देखिन्छ । यही अवस्थामा पुराना दलसँग लसपस गरिरहे रवि हराएर जान कुनै आइतबार कुर्न पर्दैन । किनकि पुराना दलहरूबाट वाक्क भएका जनताले रविमा केही आस राखेका थिए । तर, छेपारोले जस्तो छिनछिनमै रंग फेर्ने रविको प्रवृत्तिले उनको राजनीतिक भविष्य ओझेलमा पार्ने निश्चित छ । रविले आफूलाई नसच्याए आफू पनि सकिन्छन् र रास्वपा पनि सकिने छ ।

प्रतिक्रिया दिनुहोस्