सर्लाही, १० बैशाख । परवानीपुर–चुरेक्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीमा क्वारेन्टाइनमा रहेका एक शिशुको मृत्यु भएको छ ।
परवानीपुर शीर फुलजोरका तारादेव वाईवाका अन्दाजी ५ महिने छोराको मृत्यु भएको हो । उनीहरु तीनदिनदेखि परवानीपुरस्थित झल्ला चौडीमा रहेको विद्यालयमा निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा बसिरहेका छन् । तारादेव र उनकी श्रीमती तीन दिनअघि मात्रै त्यहाँ आएको बुझिएको छ ।
लालबन्दी नगरपालिका–१५ नंं वडाका वडाध्यक्ष गोरखबहादुर बलले शिशुको चिसोका कारण मृत्यु भएको आशंका गरिएको र थप जानकारी लिन लालबन्दीबाट स्वास्थ्यकर्मी घटनास्थलमा आएको बताए ।