Logo
Logo

काठमाडौं महानगरले यस वर्ष पनि कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने


1.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई यस वर्ष पनि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दैै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन आह्वान गरेको हो । गत वर्ष पनि काठमाडौँ महानगरपालिकाले काठमाडौँका निजी कलेजमा झण्डै ४ हजार जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

शिक्षा नियमावलीमा निजी विद्यालयहरुले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार महानगरपालिकाले यस वर्ष पनि निजी विद्यालयले प्रदान गर्ने १० प्रतिशत विद्यार्थीको छनोट आफैँले गर्न लागेको हो ।

यस वर्ष महानगरपालिकाको छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीले असार १५ गते (शनिबार) बिहान १० बजेदेखि असार २९ गते राति ११ः५९ बजेसम्म अनलाइन आवेदन दिन सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । परीक्षा भने आगामी साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुने छ ।

प्रतिक्रिया दिनुहोस्