मेरो पालामा एसएलसी जिल्लाको सदरमुकाममा आएर दिनुपर्ने अवस्था थियो । म गाउँबाट एक महिना अगाडि नै कुस्मामा आएर बसेर त्यैबाट एसएलसी दिएको हुँ । त्यो बेला राती कर्फ्यु लाग्थ्यो बिहान परिक्षा हुन्थ्यो ।
मानसिक रुपमा परिक्षा दिन सहज वातावरण थिएन तर विकल्प नै केहि थिएन । जिल्लाभरिका बिधार्थिलाई सदरमुकाममा परिक्षामा सामेल गराउँदा भिड चाहीँ राम्रै हुन्थ्यो बजारमा । त्यो बेला धेरै प्रेसरमा पढियो, परीक्षा पनि राम्रै भयो, कति सोचेको बिषयमा लेखे जस्तो नम्वर आएन, कति नसोचेको बिषयमा राम्रो नम्वर आयो ।
परीक्षा सायद सवैको यस्तै हुन्छ होला । मैले पढ्ने बिधालयबाट ५५ जनाले परीक्षा दिएकोमा जम्मा ३ जना उत्तीर्ण भयौँ, प्रथम श्रेणीमा पास हुने म एक्लै थिएँ । प्रथम श्रेणीमा उत्तीर्ण भएकै कारणले मैले बिज्ञान पढ्नुपर्ने भयो र पढे पनि ।
त्यो बेला एसएलसी सबैभन्दा ठुलो कुरा हो जस्तो लाग्थ्यो, म सधैं प्रथम भएर नै एसएलसीसम्म आएको । तर, आज फर्केर हेर्दा मैले आफ्नो बायो डाटामा एसएलसीको बारेमा उल्लेख नै गर्न पर्दैन । जति उच्च शिक्षा पढ्दै गईन्छ तलको अंकको त्यति महत्व नहुँदो रैछ ।
आज मलाई जतिले चिन्नुहुन्छ, त्यो मैले एसएलसीपछि गरेको दुखको कारणले हो । आजका बिधार्थीले एसईईमा प्राप्त गरेको अंकको आधारमा आफुलाई मुल्यांकन गर्न हुन्छ जस्तो मलाई लाग्दैन । आफुलाई म पढाइमा सक्षम छु है भनेर देखाउने धेरै सूचकहरु मध्ये एउटा प्राप्तांक हो । तर, यो नै सबै हैन । सबै कुरा त सिकाइ हो, जिन्दगीमा सिकेको पाठ हो ।
एसईईको बिहीबार प्रकाशित नतिजामा सफलता पाउनुहुने प्यारा भाइ बहिनीहरुलाई उज्ज्वल भबिष्यको कामना । सफलताबाट केही मिटरमात्र टाढा हुनुभएकाहरुलाई पनि उत्ति नै शुभकामना । जिन्दगीको दौडमा २–४ मिनेट छिटो ढिलो जो पनि हुनसक्छ । तर, जिन्दगीलाई दौडाउन सक्ने आँट रहिरह्यो भने सफलता अवश्य मिल्छ ।
(शिव सुबेदी चर्चित गीतकार एवं भूकम्पविद हुनुहुन्छ)