- लक्ष्मण देवकोटा
लामो संघर्षको यात्रापछि कम्युनिष्टहरु दम्भका साथ नेपाली सत्तामा विराजमान छन् । उनीहरुलाई राजतन्त्रको डर छैन । प्रतिपक्षको डर छैन । कहिँ कसैको डर नहुँदा नहुँदै पनि किन पुष्पलालले देखेको सपनामा नेपालको वामआन्दोलन अघि बढिरहेको छैन ?
राजनीति दाउपेच र अस्त्रयुद्धको क्रिडास्थल हो भन्ने कुरा बुझ्न राजनीतिशास्त्री हुनैपर्दैन । अलिकति इतिहास र वर्तमान हेरे पुग्छ । तर, दीर्घायू राजनीतिक कर्मको निम्ति दाउपेच भित्र पनि इमान्दारिताको जरुरी हुँदोरहेछ । र, सबैभन्दा ठूलो शत्रु आफ्नै मन भित्रको भय हुँदो रहेछ । सिंहासनमा विराजमान भैसकेपछि आफू नै सत्य र आफू नै निराकार हुँ भन्ने भ्रमले अभिमानको रथ चढाउँदोरहेछ ।
पुष्पलालले देखेको सपना सरल थियो । पुष्पलालको सपनालाई सरलीकृत गर्ने हो भने जसको जोत उसैको पोत, धनी गरिबको बराबरी, अन्यायमा परेकालाई निसाफ, अड्डाअदालतमा छिटो छरितो काम, उपचार नपाएर कोही नेपाली मर्न नपरोस् र सबैले पढ्न पाउन् भन्ने थियो । यो सरल सपनाको प्राप्तिमा निम्ति पुग्नु त सत्तामै थियो । विभिन्न भँगाला र अप्ठेराहरु चिर्दै हजारौँ सहयात्रीको बलिबेदी पार गरेपछि सत्तामा कम्युनिष्टहरु छन्, जसले पुष्पलालको सपना पूरा गर्ने अठोट लिएका छन् । के यो मुलुक यही गतिले पुष्पलालको सपनाको दिशातिर बढिरहेको छ त ?
यो अप्रिल २२, कम्युनिष्ट पार्टीको जन्मदिवसको अवसरमा सोचनीय कुरो हो । यो अप्रिल २२ अरु वर्षहरु जस्तो सरल रहेन । साजसज्जासहित आकर्षक मन्च, सुकिला मुकिला वक्ताहरु, पुष्पलालको राम्रो फ्रेममा सजिएको फोटो, आसन र भाषण, ताली, खादा यी सबै कुराहरु यसपटक हुनेभएन । कोरोनाको कारण । आममानिसहरु जो कहिल्यै मन्चमा पुग्दैनन्, दर्शक दीर्घामा बस्नेलाई घर बस्नुमा उतिसारो भिन्नता रहेन । अप्ठेरो मन्चमा बस्नेहरुलाई हुनसक्छ बरु, एकनिमेष पुष्पलालको स्मृतिमा आँशु झार्न नपाएकोमा ।
आजको अप्रिल २२ मा केही लेख्न बस्दा बजारमा चलिरहेको अध्यादेशको कोकोहोलो कानमा ठोक्किन आइपुगेकोछ । मानिसहरु यति ठूलो कम्युनिष्ट पार्टी फुट्न लागेकोमा बडो चित्त दुखान गरिरहेका छन् । मलाई त लाग्छ, केही हुँदैन । एक झर्को तुफान हो, आउँछ जान्छ । आफू–आफू नमिलेका यी नेताहरुले एकअर्कोको शेखी झारेपछि फेरि साम्मेसुम्मे हुन्छ । प्रधानमन्त्री ओलीले त भनेकै छन्, यो अरु कसैको निम्ति लक्षित गरिएको अस्त्र हो भनेर । चतुर खेलाडी ओलीले यौटै अस्त्रले प्रचण्ड, मधेश सबैतिर भेदन गर्न भ्याएकाछन् । अझ अध्यादेशको अस्त्रले यसैपनि कमजोर प्रतिपक्षको उपस्थिति शून्य बनाइदिएकोछ ।
अध्यादेशको यो सन्दर्भ पुष्पलालको सपनासँग जोडिएको सन्दर्भ हो भन्ने लाग्छ मलाई । पुष्पलालको सरल र सादगीपूर्ण जीवन देख्नेहरु समाजमा ज्यूँदा जाग्दाछन् । देश मात्र के पूरै विश्व कोरोनाको त्रासदीपूर्ण कहरबाट गुज्रिरहेको यो सन्दर्भमा हाम्रा प्रधानमन्त्रीको ध्याउन्न कता रहेछ भनेर बुझ्ने बडो साँकेतिक अर्थ राख्दछ अध्यादेश सन्दर्भले । निशस्त्र डा गोविन्द केसीको मागलाई दराजमा थन्क्याएर हठात् पास गरिएको यो अध्यादेशप्रति राष्ट्रपतिको कानूनसम्मत भएपनि बडो शरमलाग्दो हतारोले हाम्रा शासकहरु जमीनमा मानिसको समस्यासँग सरोकार राख्दै नन् भन्ने कुरालाई छर्लँग्गै पारिदिएकाछन् । पुष्पलालले त जमीनमा मानिसको जीवनको कुरा पो गरेका थिए ।
हिजो फाटेका जुत्ता लगाएका नेताहरुलाई भोकभोकै हिँडेका मजदूरहरुको आँशु, दूधे बालकका चित्कारले कतै नछुने भएछ भन्ने कुरा प्रष्टै देखियो । आलोचना सहने चेत शून्यबाट अझ ओरालो लागेको पनि प्रष्टै देखियो । प्रधानमन्त्री स्वय् पत्रकारले कति बजे र कति मिनेटमा कुन समाचार अपलोड गर्यो भनेर हिसाब गनेर बसेका देखिए । ५ बजेर २२ मिनेटमा अपलोड कसरी भयो ? पुलिस, प्रशासनले थाहा नपाएको पत्रकारले कसरी थाहा पायो ? भनेर स्वतन्त्र प्रेसको हुर्मत लिन लज्जा मान्दैनन् । गोकुल बाँस्कोटाको त्यत्रो सम्वाद बाहिर निस्किएकोमा कुनै शर्मिन्दा छैन, बरु चोख्याउन लागिपर्ने, जनतालाई नभई नहुने स्वास्थ्य सामाग्री खरिद सन्दर्भमा हुन लागेको चरम भ्रष्टाचारको मामिला मिडियाले नै सार्वजानिक गरेको हुँदा ब्याक हुनुपर्ने अवस्थामा पनि उहाँमा कुनै असजिलो महसुस नहुने, बरु उल्टै मिडियालाई दुष्मनको व्यवहार गर्ने चरित्र आफैमा बडो खतरनाक कुरा हो । गद्दार पुष्पलाल भनेर तत्कालीन मालेका नेताले पुस्तकै छाप्दा पनि अशिष्ट र अभद्र नभई चरैवेति चरैवेति आफ्ना आदर्श र निष्ठामा अडिग पुष्पलालका यी उल्टा चरित्रहरुले चलाएको नौका पुग्ला त गन्तव्यमा ? बडो सोँचनीय छ।
सबैले बुझिने भाषामा अध्यादेशमा प्रतिपक्ष नेताविनै दूरगामी असर पार्ने संवैधानिक अंगको नियुक्तिले त गणतन्त्रको मूल चुरो नै ध्वस्त बनाइदिएकोछ । जनताले निर्वाचित गरेको यो ओली सरकार अजम्बरी त पक्कै होइन । भोलि अर्को दलको सरकार आएपनि कथम्कथाचित निरंकुश हुने प्रयास गरेमा रोक्ने विशेष थलो थियो त्यो । यसै कमजोर प्रतिपक्षलाई अझ मैदानबाट हटाइदिनु त गोलपोष्टमा किपर नभई ड्यामकी ड्याम गोल गरे जस्तो होला । विजय त देखिएला तर त्यो विजयको रौनक कस्तो होला ?
हामी जस्ता जमीनका मान्छेले सोेचेका थियौँ, संकटका बेला अस्पतालका ढोका बन्द गर्ने निजी अस्पतालहरुलाई सरकारले तत्काल सरकारीकरण गरोस् र त्यसमा राष्ट्रपतिको पनि सहमति होस् । अध्यादेश नै जारी गर्नपरे पनि त्यसमा सबैको समर्थन होस् । मुनाफाखोर निजी स्कूलहरुको सरकारीकरण होस् र सबैलाई शिक्षा बराबरी होस् । त्यसका निम्ति ल्याउन परे अध्यादेश ल्याइयोस् र समर्थन होस् । वर्षौँ पुराना जेमराजका वाहनहरु गुड्ने हाम्रा बाटाहरुमा निजी मुनाफाखोरहरुले ब्रेक समेत गतिलोसँग नलाग्ने थोत्रा बसहरु कवाडीमा थन्क्योस् सरकारले । त्यसबापत सरल, सुलभ र विश्वसनीय तरीकाले यात्रा गर्न पाइयोस् । अहिले रेल पनि चाहिएको छैन । भेँडाबाख्राझैँ खाँदिएर भिरबाट छासिन नपरोस् । अहिलेको अध्यादेश जस्तो धडाकसे यो कुरा सरकारले व्यवहारमा ल्याए कति गजब हुन्थ्यो ? तर अहँ ओली कमरेडको ध्यान त प्रचण्डको हातखुट्टा अझै कमजोर बनाउने, तराइतिरका दलहरुलाई छिन्नभिन्न पार्ने तिकडममै केन्द्रीत रहेछ । त्यसको पनि बेला हुँदो हो ।
हामीजस्ता अकिन्चनहरुलाई लागेको के हो भने, रेमिट्यान्सले अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको देशमा कोरोनाले थिलोथिलो भएको अर्थतन्त्रलाई कसरी मजबुत गर्ने ? खाडीको श्रमशक्ति नेपाल फर्किए त्यसलाई व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन योजनाहरु के हुने ? रोजगारीको अवसर अझ कसरी बढाउने ? भन्ने विषयमा प्रष्ट खाका बनाएर अघि बढे कति जाति हुँदो हो ?
सम्भवतः यी र यस्तै योजनाले होला पुष्पलालको सपना साकार हुने । तर ओली नेतृत्वको यो कम्युनिष्ट सरकार दलाल पुँजीपति, नाफाखोरहरुको पन्जाबाट बाहिर निस्कनै नसक्ने अवस्थामा पुगिसकेको छ । हिज हाम्रा झुप्रामा सेल्टर लिनेहरुले त्यही झुप्रो बिर्सिएपछि हामीले पो तिनका सपनामा किन विश्वास गरिरहनपर्यो र ? यो विपना कतिपयको अकन्ट सन्नाटा र कपटको भाषाले ल्याउने भनेको विनाश नै हो । तर्क त हजार गर्न सकिन्छ । हुँदोखाँदोको बहुमतको सरकार आफ्नै किचलोले ढलाएर मध्यावधि गर्दा पनि गिरिजाले कम्युनिष्टलाई दोष दिएका थिए ।
फूटमा शक्ति हुन्छ भन्दै वामदेवहरु पनि सडकमा निस्किएकै थिए । अहिले फूटले सुशासन ल्याउने ओलीको कुतर्क पनि ढिलोचाँडो प्रष्ट हुने नै छ । अहंमको घोँडामा सवार ओली सरकार पुष्पलालले खन्न थालेको र मदन भण्डारीले गैँची चलाएको बाटोमो उल्टो गतिमा कुँद्न अभिषप्त छ । हेरौँ, कहाँ पुगेर टुँगिने हो यो यात्रा ।
प्रकाशित मिति : बुधबार, १० बैशाख २०७७