Logo
Logo

नेपाल टेलिकमको एफटीटीएच प्रविधि सुरुवात


378
Shares

काठमाडौं । नेपाल टेलिकमले पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा स्तरोन्नति गरेको छ ।

नक्सालस्थित कार्यालयमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवा बन्द गर्दै टेलिकमले एफटीटीएच प्रविधिको सुरुवात गरेको हो । यो सँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटीटीएचमा स्तरोन्नति भएको छ ।

पुरानो प्रविधिको अन्त्य र नयाँ प्रविधिको सुरुवात गर्दै प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले नेपाल टेलिकमले समयानुसार नयाँ प्रविधिलाई अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिएको बताए । नेपाल टेलिकमप्रति सेवाग्राहीहरुमा भएको सकारात्मक धारणालाई चीर स्थायी बनाउन कम्पनीले ग्राहकमैत्री सेवाप्रवाह गर्नु पर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुलीलगायत विभिन्न वक्ताहरुले कम्पनीले हाल विभिन्न स्थानमा स्तरोन्नति कार्य जारी राखेको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात गर्नु पर्ने धारणा राखेका थिए ।

दूरसञ्चार कार्यालय, नक्सालका कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा ५ हजार क्षमताको एक्सचेन्ज निर्माण भई २०४० पुस १४ गते उद्घाटन भएको जानकारी दिदै हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको जानकारी गराएका थिए ।

एफटीटीएच प्रविधिअन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् ।

नेपाल टेलिकमले देशभर रहेका पुरानो कपर प्रविधिलाई विस्थापन गर्ने कार्यलाई जारी राखेको छ । यो कार्य नियमित रुपमा भइरहको बताउँदै उसले केही समय पछि देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्