काठमाडौं, १० बैशाख । कोभिड–१९ विरुद्ध लड्न भारत र नेपालबीच जारी सहकार्यको क्रममा भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २३ टन औषधी हस्तान्तरण गरेका छन् ।
भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहारस्वरुप हस्तान्तरण गरिएको सो औषधीमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु रहेका छन् । यस अवसरमा उनले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाए ।
कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न हाम्रा नेताहरुले प्रतिबद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत २ गते सार्कराष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । र, सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भारतीय तथा नेपाली स्वास्थ्यकर्मीहरु यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेका छन् । संकटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेको राजदूत क्वात्राले बताए ।