लिम्बूहरुको थर र उपथरहरुमध्येका एक मावोहाङ यक्सोहरुको मूल बसोबास ताप्लेजुङको हाङपाङ र सान्थाक्रामा रहेको छ । यक्सोहरुमा प्रचलित एक लोककथाअनुसार कुनै बेला उनीहरु राजा सेरेङहाङका विश्वासिला सहयोगी थिए । उनीहरु पराक्रमी थिए । यक्सोहरुको माङ्गेना मुन्धुममा उनीहरुको पराक्रमी पुर्खामध्ये थाक्मिया र मुरेगनको विशेष गाथा गाउने चलन छ ।
लोककथाअनुसार उनीहरुले तमोर नदीको मिया दोभानमा ढडिया थाप्दा त्यहाँ परेको माछा चोरेको आरोपमा यस्ता ब्यक्तिको हत्या गरिदिए, जो उनीहरुकी आफ्नै फुपुका प्रेमी थिए । सो घटनापछि प्रायश्चित गर्दै राजा सेरेङहाङसँग विदा भई त्यो ठाउँ छाडेर हिड्दा कान्छा सान्थाक्रामा बसे भने जेठा चाहिँ हाङपाङ आइपुगे । आफ्नी फुपुको प्रेमी मारेकोमा प्रायश्चित गर्न त्यहाँबाट बाटो लाग्ने बेलामा फुपुले ‘माथि फुकेको र तल सुकेको ठाउँमा गएर बस्नू’ भन्ने सल्लाह दिएकी थिइन् । पारी चाँगे आइपुगेर हेर्दा फुपुले भनेजस्तै ठाउँ देखेर यक्सोमध्येको जेठो भाई हाङपाङ आइपुगेको लोककथामा सुन्न पाइन्छ ।
यक्सोहरुको माङ्गेना यक (जातिगत मूल गढी) तमोरखोलाको यक्चे यक हो । यक्सो शब्दको ब्यूत्पत्ति पनि यक शब्दबाट आएको देखिन्छ । लिम्बू भाषामा ‘यक’ भनेको गढी वा किल्ला हुन्छ र ‘कोवा’ भनेको रुगौलो अर्थात् रक्षक भन्ने लाग्छ । यहीँ यक र कोवा शब्दबाट ‘यक्कोवा’ हुँदै त्यहीँ शब्द अप्रभंश भई ‘यक्सोवा’ हुन पुग्यो । यक्सोवा हुँदै पछिल्लो समय उनीहरुले आफ्नो थर यक्सो मात्रै लेख्न थालेको पाइन्छ ।
एक सय वर्षभन्दाअघि प्रकाशित एक पुस्तकमा यक्सोलाई ‘यक्सोवा’ र ‘यक्सोमा’ लेखिएको पाइएको छ । इतिहासकार इडेन भ्यान्सिटार्टले लेखेको ‘गुर्खाज’ (सन् १९१८ः११७) मा आठराई क्षेत्रमा बसोबास गर्ने लिम्बूहरुमा यक्सोवा र यक्सोमा पनि रहेको उल्लेख गरेका छन् ।
भ्यान्सिटार्टले आठराई क्षेत्रमा बसोबास गर्ने १६ थरका लिम्बूहरु रहेको उल्लेख गर्दै यक्सोवा र यक्सोमा यी दुई बेग्लाबेग्लै थरका लिम्बू भएको जस्तो गरी उल्लेख गरेका छन् । लिम्बूहरुको थर टिपोट गर्दा उनी अलि अल्मलिएजस्तो देखिन्छ । यक्सोवा भन्नाले यक्सो पुरुष र यक्सोमा भन्नाले यक्सो महिला जनिनेमा उनले यक्सोवा र यक्सोमा दुई थरी भन्ने विवरण दिएका छन् । जे भए पनि त्यो समय यक्सोलाई यक्सो नभएर यक्सोवा भन्ने चलन रहेछ भन्ने चाहिँ स्पष्ट हुन आउँछ ।
भ्यान्सिटार्टको यो पुस्तकको पहिलो संस्करण सन् १९१५ र यसको पूनमुद्रण सन् १९१८ मा भएको देखिदा १०९ वर्षअघि यक्सोलाई यक्सोवा भन्ने चलन रहेछ भन्ने स्पष्ट हुन आउँछ ।
लिम्बूलाई किपटिया सुवांगी
सेनकालदेखि स्थानीय शासकका रुपमा लिम्बूहरुले लिखित तालुकदारी र अधिकार पाएका थिए । शाह राजाहरुले पनि लिम्बूहरुको यस्तो तालुकदारी र अधिकारलाई निरन्तरता दिएको प्रशस्तै लालमोहर र रुक्काहरु अहिले पनि लिम्बूहरुसँग ऐतिहासिक प्रमाणका रुपमा सुरक्षित छन् । लिम्बूहरुलाई दिइएको यस्तो अधिकारलाई सुवांगी भनिन्थ्यो । सुवांगी अधिकार पाउने लिम्बूहरु गाउँको सुब्बा कहलाउँथे । उनीहरुलाई पञ्चखतबाहेक सबै अधिकार दिइएको थियो ।
‘वृहत् नेपाली शब्दकोश’ (२०७५ः७१७–१८) अनुसार सावित भएमा ज्यान सजाय हुने, दामल हुने, मुडिने, घटी जातमा मिलाई खोपिने र जाति पतित हुने–यी पाँच किसिमका दण्ड वा खत हुने अपराधलाई त्यसबेला पञ्चखत मानिन्थ्यो ।
यस्तो अपराधमा न्याय निरुपण गर्ने अधिकार भने लिम्बू सुब्बाहरुलाई थिएन । त्यो बाहेकका सबै किसिमका न्याय निरुपण गर्ने, स्थानीय प्रशासन चलाउने, भूमीकर उठाउने अधिकार लिम्बू सुब्बाहरुलाई राज्यले प्रदान गरेको थियो । रस्ती रसाउने र बस्ती बसाउने अधिकार लिम्बू सुब्बाहरुले पाएका थिए ।
सुब्बासँगै राय अर्थात् राई पद पनि थियो । पछि राय पद राई थरमा परिणत हुन पुग्यो । १६ औँ शताब्दिदेखि लिम्बू हाङहरुले “राय” पद ग्रहण गरेका हुन् । विजयपुरका राजा विजयनारायण रायबाट सबैभन्दा पहिले मुरेहाङ खेवाङले राय पद लिएको इतिहास पाइन्छ ।
लिम्बूहरुलाई महत्त्वपूर्ण जागिर र जिम्मेवारी दिइदा यस्तो पद दिएको थियो । लिम्बू भाषामा हाङहरुलाई ‘सुभा’ भनिन्थ्यो । विजयपुर राजधानीमा आएर राजकाज गर्न थालेपछि यी हाङ अर्थात् सुभाहरुले राय पद ग्रहण गरे । पछि यिनै सुभा तथा राय शब्द अप्रभंश भएर ‘सुब्बा’ तथा ‘राई’ हुन पुगेको हो (इमानसिंह चेम्जोङ, ‘किरातकालिन विजयपुरको सङ्क्षिप्त इतिहास’–२०५९ः१७–१८) ।
सेनकालदेखि स्थानीय शासकका रुपमा लिम्बूहरुले लिखित तालुकदारी र अधिकार पाएका थिए । लिम्बूहरुलाई दिइएको यस्तो अधिकारलाई सुवांगी भनिन्थ्यो । सुवांगी अधिकार पाउने लिम्बूहरु गाउँको सुब्बा कहलाउँथे ।
यसरी राज्यबाट पाएको सुवांगी अधिकारप्राप्त जग्गा जमिनमाथिको लिम्बूहरुको अधिकारलाई किपट भनिन्थ्यो । २०२१ सालमा राजा महेन्द्रले भूमीसुधार लागू गरेपछि लिम्बूहरुको किपट अधिकार हरण हुन पुग्यो । किपट ब्यवस्था रहुन्जेल सुब्बाहरुलाई सघाउनेहरु कर्ता र कारवारी कहिन्थे । गैर लिम्बूहरुलाई सुब्बाहरुले “थरी” पदमा नियुक्त गर्थे ।
यक्सोहरुको सुवांगी
हाङपाङमा यक्सो, आङबुहाङ र हाङवाङ थरका लिम्बूहरुको किपटिया सुवांगी थियो । त्यसमा पनि यक्सो लिम्बूहरुमध्येबाट प्रशस्तै सुब्बाहरु थिए । पाँच सुब्बा, तीन सुब्बा र खुवाली सुब्बाका रुपमा यक्सोहरुको कार्यविभाजन हुन पुगेको थियो ।
यक्सोहरुको वंशावली ‘यक्सो इत्लाम’ (२०७३ः३७) मा उल्लेख भएअनुसार वि.सं. १९५० को वेदनिधि महाजाँचअनुसार हाङपाङमा १३ जना यक्सोहरुले सुवांगीको रुपमा दर्ता पाएको देखिन्छ । तीमध्ये पाँच सुब्बामा शुभदत्त, जगनध्वज, हंशनन्द, हाङताप सिंह र लालध्वजका साथै उनीहरुबाट छुट्टिएका गजबीर, जसमोलको एउटा र रुपध्वजको अर्को गरी सात जनाले सुवांगी पाएका थिए । यस्तै तीन सुब्बातर्फ अदलवाज, आनन्दवाज र मानबहादुरले अनि खुवाली खलकमा अटलध्वज, जसिवन्त र एक्कलमानले सुवांगी पाएका थिए ।
हाङपाङको मूल सुवांगी
३२ थरका मावोहाङ वंशका लिम्बूमध्ये यक्सो एक थरी लिम्बू पर्छन् । उनीहरुको पुर्खा मुनाफेन हुन् । यिनै मुनाफेनका २३ औँ पुस्ताका जेठा राजगुन्द आफ्नो समयमा हाङपाङका नामी सुब्बा थिए । उनका पाँच भाई छोरा भए; जेठा राजवीर, माहिला जस्नवीर, साहिला मतिराज, काहिला जङ्गदल र कान्छा गजबीर (यक्सो इत्लाम, २०७३ः७४) ।
यिनै पाँच जना छोराहरुमा सुवांगी बाँडिदा यो खलकलाई “पाँच सुब्बा” भनियो । यो खलक र त्यसमा पनि मूल रुपमा सुवांगी सर्दै जाने जेठाका सन्तान नै हाङपाङ गाउँभरका सबैभन्दा ठूला र मूल सुब्बाका रुपमा सक्रिय भए । यसअनुसार हाङपाङको सुवांगी राजगुन्दका जेठा छोरा राजवीर र उनका जेठा सन्तानमा सर्दै गयो ।
यस्तो सुवांगी क्रमशः शुभदत्त, खाराङध्वज, रनध्वज र शरणध्वजसम्म आइपुग्यो । यो खलक पाँच सुब्बा यक्सोभित्रको मात्र नभई हाङपाङकै सबैभन्दा ठूलो सुंवागीको विरासत हाँक्ने जिम्मेवारी पाएकोले यो खलकलाई मूल सुब्बा खलक भनिन्छ ।
हाङपाङका यहीँ पाँच सुब्बा यक्सो खलकले नै प्रसाईँ ब्राह्मणहरुलाई बोलाएर आफ्नो सुवांगी किपट क्षेत्र हाङपाङमा बसोबास गराएको ‘प्रसाईं वंश–वृक्ष’ (२०७२ः११)मा पढ्न पाइन्छ ।
इतिहासकार भगिराज इङनाम र शेरबहादुर इङनामद्वारा लिखित ‘तेह«थुम जिल्लाको सुब्बाङ्गी प्रथा’ (२०७०ः१५९) अनुसार यक्सो लिम्बूहरुले आफ्नो आराध्यदेवी युमालाई मान्ने शर्तमा प्रसाईँहरुलाई आफ्नो किपट क्षेत्रमा बसोबासका लागि निम्तो दिएका थिए ।
२०२१ सालमा भूमीसुधार लागू भएपछि किपट प्रथा हरण गरिए पनि ती जग्गा जमिन नापी नहुन्जेलसम्म स्थानीय लिम्बू सुब्बाहरुले नै रेखदेख गर्ने गर्थे । हाङपाङमा २०४१–४२मा नापी सम्पन्न भएपछि यहाँ यक्सोहरुले पाएको मूल सुवांगीको पनि अन्त्य भयो । यस क्षेत्रमा अन्तिम मूल सुब्बाका रुपमा शरणध्वज यक्सो सक्रिय थिए ।
वि.सं. १९७६ फागुनमा हाङपाङको साविकको वडानम्बर ५ मा जन्मेका मूलसुब्बा शरणध्वजको हाङपाङमै २०५३ साल वैशाख १६ गते निधन भयो । उनी मूल सुब्बा रहँदा पहिले जेठा छोरा अमृतकुमार उनका मूल सहयोगी थिए ।
तर, उनी बेलायती सेनामा भर्ती भएर गएपछि मूल सहयोगीका रुपमा उनका माहिला छोरा पर्वतकुमार सक्रिय भए । अहिले पनि शरणध्वजका छोराहरुलाई सुवांगी विरासतबाट गाउँलेहरुले सम्वोधन गर्छन् । जस्तो कि अमृतकुमारलाई सुब्बा जेठा, पर्वतकुमारलाई सुब्बा माहिला अनि नरेन्द्रकुमारलाई सुब्बा अन्तरे ।
मूलसुब्बा शरणध्वजको पुर्खालाई पहिले राज्यले युद्ध लड्न ढालतरबार र झ्याली पिट्नका लागि नगरा पनि प्रदान गरेको थियो । तर ती महत्त्वपूर्ण ऐतिहासिक सामग्रीहरु सुरक्षित हुन भने सकेनन् । राज्यले अधिकार खोसेपछि उनीहरुले पाएको मूल सुवांगी पनि सम्झनामा मात्रै सिमित हुन पुगेको छ ।