Logo
Logo
एकीकृत समाजवादीको १०औँ महाधिवेशन

कसको विचार, कसको नेतृत्व ?


गौतम राई

21.5k
Shares

कम्युनिस्ट पार्टीहरुमा ‘जसको विचार, उसकै नेतृत्व’ निकै चर्चित भनाइ हो । हुनपनि कम्युनिस्ट पार्टीहरु विचारलाई प्रधान मान्दछन्, व्यक्तिलाई गौण । कम्युनिस्ट आन्दोलनका मुख्य विचारक कार्ल माक्र्स बितेको करिब डेढ सताब्दी बितिसक्दा पनि माक्र्सको विचार अनुसरण गर्ने र समाज परिवर्तनको लक्ष्य बोकेर क्रान्तिको लागि बलिदान दिन तयार हुने करोडौं मान्छेहरुको लामबद्धता यो धर्तीमा अझै जारी छ ।

विचार अनुसारको नेता भएन भने आन्दोलनले अनेकौं संकटहरु व्यहोनुपर्ने हुन्छ । जस्तो कि, नेकपाको दोस्रो महाधिवेशनले विचार पुष्पलालको पारित गर्यो भने नेतामा केशरजंग रायमाझीलाई निर्वाचित गर्यो । जसको कारण, पछि गएर नेता केशरजंग रायमाझीले कम्युनिस्ट आन्दोलनलाई दरबारमा लगेर बुझाएको,कम्युनिस्ट आन्दोलन ध्वस्त बनाएको इतिहास छ ।

इतिहास भनेको घटिसकेको घटना मात्रै हैन बरु यो त भविष्यको लागि शिक्षा समेत हो । किनकि, ठीक त्यस्तै घटना नेकपा एमालेको नवौं महाधिवेशनमा फेरि पर्दार्पण भयो । महाधिवेशनमा कमरेड झलनाथ खनाल नेतृत्वको दस्तावेज कमिटीमा कमरेड केपी ओली भन्दा फरक समूहको विचार पारित भयो भने नेतृत्वमा चाहिँ केपी ओली निर्वाचित हुनुभयो । अनि, पछि गएर ओलीले महाधिवेशनको विचार अनुसार पार्टी चलाउने हैन बरु उहाँले संसद विघटन गर्ने, पार्टीलाई हुल्लडबाजहरुको क्लब बनाउने, कम्युनिस्ट आन्दोलनलाई तितरबितर पार्ने र आफ्नो मनमौजी पूरा गर्ने यन्त्रको रुपमा पार्टीलाई कब्जा गर्नुभयो । किनकि, पार्टीको विचार उहाँको थिएन नेतृत्व मात्रै उहाँको थियो ।

नवौं महाधिवेशनमा विचार ओलीको थिएन भने विचार कसको थियो ? नेतृत्वमा माधव नेपाल पराजित हुनुभएको थियो भने त्यो विचार उहाँको थियो त ? दस्तावेज कमिटीको नेतृत्व झलनाथ खनालले गरेका थिए भने के त्यो विचार झलनाथको थियो त ? त्यसो भए झलनाथ आफ्नो विचार पारित भएपछि नेतृत्वमा किन उठेनन् ? यस्ता प्रश्नको सही उत्तर खोज्न वा जान्न सकिएन भने अलमल हुन्छ र जसले जे भन्यो त्यही ठीक हो कि जस्तो भान पर्न थाल्छ ।

नवौं महाधिवेशनको विचारको मूल विषय केवल नवौं महाधिवेशनमा उठेका विचारहरु थिएनन् बरु त्यो त आठौं महाधिवेशन ‘पूरक प्रस्ताव’को निरन्रता थियो । जुन पूरक प्रस्तावको जननी मूख्यतः घनश्याम भूसाल र उनको समूह थियो । घनश्याम भूसालको समूहमा केन्द्रीय सदस्य पनि नरहेकाहरुको बाहुल्यता थियो, त्यसैले त्यो समूहले उठाएको विषय महाधिवेशनमा धेरै चर्चापरिचर्चाको विषय बन्न सकेन । बरु त्यो दस्तावेजको विचारहरुले नवौं महाधिवेशनमा फेरि टाउको उठाएको थियो, ठाउँ पाएको थियो ।

के थियो त्यो दस्तावेजको विचार ? नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नो स्थापनाकाल देखि भन्दै आएको के थियो भने– नेपाली समाज अर्धसामन्ती अर्ध औपनिवेशिक समाज हो, यस्तो समाजमा अर्धसामन्ती शोषण–दमनको विरुद्धमा गरिने क्रान्ति भनेको जनवादी क्रान्ति हो । जनवादी क्रान्तिले नेपाली समाजको अन्तरविरोध रहेको सामन्तवादको अन्त्य गरेर जनवादी सत्ता स्थापना गर्ने हो ।

कम्युनिस्ट आन्दोलनले स्थापनाकाल देखि भन्दै आएको कुरामा अब फेरबदल आएको छ, त्यस अनुसार हामीले फेरिएको अवस्था अनुसारको क्रान्तिको बाटो बनाउनुपर्छ भन्ने घनश्याम भूसालहरुको त्यो दस्तावेजको मूल विषय थियो ।

फेरिएको अवस्था के थियो ? र बनाउनुपर्ने क्रान्तिको बाटो के हो ? उक्त दस्तावेजको मूल विचार के थियो भने २०६२/६३ को जनक्रान्तिले आधारभूत रुपमा कम्युनिस्टहरुले भन्दै आएको ‘जनवादी क्रान्ति’को कार्यभार पूरा गरेको छ । नेपाली समाज पनि अब स्थापनाकालमा भने जस्तो ‘अर्धसामन्ती’ रहेन, बरु यो बदलिएर ‘दलाल पूँजीवादी’ चरित्रको भएको छ । त्यसो हुँदा अब नेपाली समाजको अन्तरविरोध समेत बदलिएको छ । त्यसकारण दलाल पूँजीवादको विरुद्धमा ‘समाजवादी क्रान्ति’ नै आजको कम्युनिस्ट आन्दोलनको मूल बाटो हो । त्यसकारणले, जनवादी क्रान्तिको कार्यदिशा र कार्यक्रम बोकेको ‘जनताको बहुदलीय जनवाद’ले आफ्नो कोर्स पूरा गरेको हुनाले यसको च्याप्टर क्लोज भयो । त्यसकारण, अब हामीले समाजवादी क्रान्तिको कार्यदिशा र कार्यक्रम बनाएर मात्रै कम्युनिस्ट आन्दोलन अघि बढ्न सम्भव छ ।

नवौं महाधिवेशनले नेपाली समाजको अन्तरविरोध अब अर्धसामन्ती नरहेर दलाल पूँजीवाद हो भन्ने विचारलाई पारित गर्यो । अब जनवादी क्रान्ति नभएर समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने विचारलाई पारित गर्यो । तर, समाजवादी क्रान्तिको कार्यदिशालाई प्रष्ट बनाउदै बृहत कार्यक्रम भने निर्माण गर्न सकेन । नवौं महाधिवेशनमा बाँकी रहेको त्यो कामलाई दशौं महाधिवेशनबाट पूरा गर्दै एकीकृत समाजवादीले आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्नुपर्नेछ ।

एकीकृत समाजवादीले महाधिवेशनमा प्रस्तुत गरिने ४ वटा दस्तावेजहरु– राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादी कार्यक्रम र पार्टी विधानमा उल्लेख गरिएको मूल विषय र कार्यदिशा भनेकै घनश्याम भूसालहरुले आठौंमा पेश गरेको दस्तावेजका मूल विचारहरुको निरन्तरता हो जून नवौं महाधिवेशनबाट पारित गरिएको थियो तर केही पूर्णता बाँकी थियो। यसर्थ, आजको नेकपा एकीकृत समाजवादीको मूल विचार भनेको कमरेड घनश्याम भूसालकै विचारहरु हुन् । जसलाई पूर्णता सहित अघि बढाउने र पारित गर्नुपर्नेछ ।

त्यसो हुँदा दशौं महाधिवेशनमा, कसको विचार ? कसको नेतृत्व ? भन्ने मूल प्रश्नलाई निराकरण गर्न सकेनौं भने एकथान महाधिवेशन गर्ने र एकथान नेता चुन्ने कर्मकाण्डीय महाधिवेशन न ऐतिहासिक हुनेछ न विशेष हुनेछ । यसले, आज नेपाली समाजमा व्याप्त रहेको राजनीतिक निराशालाई चिर्न सक्दैन, बाटो दिन सक्दैन ।

कतिपयले, नवौं महाधिवेशनमा केपी ओली विरुद्ध माधव नेपाल अध्यक्षमा उठ्नु भएको थियो त्यसैले नवौंको विचार माधव कै हो, त्यसको निरन्रता नै दशौंको विचार हो भन्ने उरन्ठेउला तर्क गर्दछन् । वस्तुतः अवस्था त्यस्तो थिएन, होइन । नवौंको दस्तावेज कमिटीको प्रमुख तत्कालीन पार्टी अध्यक्षको रुपमा झलनाथ खनाल हुनुहुन्थ्यो भने घनश्याम भूसाल सदस्य हुनुहुन्थ्यो ।

सदस्य घनश्याम भूसालले आठौं महाधिवेशनमा पूरक प्रस्तावमा उठाउनुभएको विचारलाई नै उहाँले दस्तावेज कमिटीमा राख्दा त्यो विचारमा बहुमत पुग्ने भएपछि केपी समूहले समेत आत्मसमर्पण गर्नुपरेको थियो । किनकि, दस्तावेज कमिटीको सदस्य वामदेव गौतम घनश्यामको विचारसँग सहमत थिए तर नेतृत्वमा केपीले वामदेवको समर्थन चाहेका थिए । त्यसैले ओली समूहले वामदेवलाई नचिढ्याउने रणनीति अनुरुप दस्तावेजमा खासै रस्साकस्सी नगर्ने नीति लिएको थियो ।

तदनुरुप, घनश्याम भूसालको विचार पारित भयो भने, नेतृत्व चाहिँ घनश्यामहरुले उठाएका माधव नेपाललाई हराउँदै वामदेवको सहयोगमा ओलीले हत्याउन सफल समेत भए । वस्तुतः माधव नेपाललाई घनश्यामहरुको विचार के हो ? त्यो सँग खास चासो पनि थिएन । उहाँले नै प्रकाशित गर्नुभएको घोषणापत्रमा समेत नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने एजेन्डालाई अघि सार्नुभएको थियो । बरु उहाँ त ‘जबज’ नै गजब भन्दै थिए । जुन सिलसिला केही अघि अनेम संघ (समाजवादी)को मूखपत्र विमोचनमा समेत जारी थियो, माधव नेपाल भन्दै हुनुहुन्थ्यो–जबजको हामी प्याटेन्ट राइट हौं, जबजको औचित्य सकिएको छैन ।

तर, नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा प्रस्तुत हुने ४ वटै दस्तावेज मध्ये पनि, पार्टी अध्यक्ष माधवकुमार नेपालले नै प्रस्तुत गर्नु भएको ‘राजनीतिक दस्तावेज’मा समेत– नेपाली समाजको अन्तरविरोध दलाल पूँजीवादसँग रहेको र समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने निश्कर्ष निकालिएको छ । यतिमात्रै हैन, उक्त दस्तावेजको ५ औं बुँदामा–नवौं महाधिवेशनको निश्कर्ष र कार्यान्वयनको समीक्षामा समेत कतै ‘जनताको बहुदलीय जनवाद’को उल्लेख समेत छैन । वस्तुतः कमरेड माधव नेपालले बोले अनुसारको दस्तावेज नै छैन । उहाँले पनि विचारको पक्षमा भने नवौं महाधिवेशनमा केपी ओलीले जस्तै आत्मसमर्पण गर्नुभएको मात्रै हो ।

तथ्यहरुले यी सब चीज देखाइसकेपछि, कसैले ‘जसको नीति उसकै नेतृत्व’भन्छ भने त सिधा कुरा हो घनश्याम भूसालको नीति रहेछ उसकै नेतृत्व हुनुपर्दछ । किनकि, आजको नेकपा एकीकृत समाजवादीको नीतिको मूल स्रोत भनेको त घनश्याम भूसालहरुले आठौं महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेजको मूल विचार नै हो । यसर्थ, जसको नीति उसको नेतृत्व अपनाउने हो भने कमरेड घनश्याम भूसाललाई नै नेतृत्वमा स्थापित गर्नुको विकल्प छैन । अन्यथा, कम्युनिस्ट आन्दोलनमा नीति बिना नेता भएका केशरजंग र केपी ओलीको पुनरावृत्ति नहोला भन्न सकिन्न । जसलाई नीतिको बाल मतलब हुन्न तर पार्टीलाई सत्ता स्वार्थपूर्तिको साधन मात्रै बनाउने खेल मात्रै खेलिरहन्छ ।

यसर्थ, दुनियाँले नियालिरहेको नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रुपमा भव्य र सभ्य बनाउन, सिंगो कम्युनिस्ट आन्दोलनलाई मार्गदर्शन गर्ने महाधिवेशन बनाउन ‘जसको नीति उसको नेतृत्व’ स्थापित गर्न कमरेड घनश्याम भूसाललाई नै नेतृत्वमा स्थापित गर्नुको विकल्प छैन । सिंगो समाजवादीले यो ऐतिहासिक दायित्व पूरा गर्नुपर्नेछ ।

(लेखक राई नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया दिनुहोस्